तिलोत्तमा । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आर्थिक तथा औद्योगिक विकासको लागि प्रदेशमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । उनले छिमेकी मित्रराष्ट्र चीन र भारतले गरेको आर्थिक र औद्योगिक विकासको अनुशरण गर्न सके समृद्धिको यात्रा टाढा नरहेको पनि बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर ७ को शाखा कमिटीलाई मंगलबार सपथग्रहण गराउँदै पार्टीका केन्द्रीय सदस्य गिरीले सरकारले अघि सारेका नीति र योजनालाई जनतामाझ लैजान कार्यकर्तालाई आग्रह गरे । सरकारले गरेका सकारात्मक कामको जनतामा सही सन्देश प्रवाह गर्न र कमीकमजोरीबारे रचनात्मक सुझाव दिन पनि उनले आग्रह गरे ।
चीनले स्वतन्त्र भएको छोटो अवधिमै आर्थिक र औद्योगिक विकासमा लोभलाग्दो फड्को मारेको उल्लेख गर्दै मन्त्री गिरीले उसको बाटो पछ्याउनुपर्ने बताए । प्रदेश नम्बर पाँचको समृद्धिको आधार पर्यटन क्षेत्र रहेको भन्दै मन्त्री गिरीले यसका लागि मन्त्रालयले योजनाबद्ध काम अघि बढाइरहेको बताए ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरूयोजना पूरा भएपछि पर्यटकहरूको ओइरो लाग्ने पनि उनले बताए । नेकपाका केन्द्रीय सदस्य गिरीले पार्टी एकताको भावनालाई आत्मसाथ गर्दै अघि बढ्न पनि कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, वडा नम्बर ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डे, शाखा कमिटी अध्यक्ष देवीप्रसाद पंगेनी, सचिव विमला गुरुङ लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । नेकपा तिलोत्तमाले मंगलबारदेखि सबै शाखा कमिटीहरुको सपथग्रहण सम्पन्न गरेको छ । अव टोल कमिटी निर्माणलाई तीव्र पारिने अध्यक्ष चापागाईंले बताए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्