काठमाडौं : नेपालको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। नेपालको तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका विदेशमन्त्री वाङ यीलाई नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यी अहिले विमानस्थलबाट होटल द्वारिका जाने कार्यक्रम रहेको छ। सोमबार हुने नेपाल र चीनबीचको दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि वाङ काठमाडौं आएका हुन्।
नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा भोलि वार्ता हुनेछ। भोलि दुईपक्षीय वार्ता भएपछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।
विदेशमन्त्री वाङ यीको भ्रमणलाई कार्तिकमा हुने भनिएको चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारीको रूपमा हेरिएको छ। नेपालमा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा दुई तिहाइको बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उच्च स्तरीय औपचारिक राजनीतिक भ्रमण हो।
नेपाल-चीनबीच भएका सम्झौता कार्यान्वयनमा समेत विदेशमन्त्री वाङ यीले नेपाली पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत रहेको कार्यक्रमबारेका विषयमा कुरा दुई पक्षीय वार्ताका क्रममा राख्ने बताइएको छ।
विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, विदेशमन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा पूरा भएको छ। ‘हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ’, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्ने सहसचिव कालीप्रसाद पोखरेलले भने, ‘नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ।’
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्