एउटा भनाई छ- लभ इज ब्लाइन्ड !
जसले प्रेम गरे पछि आफू र ऊ बाहेक अरु केही देख्दैन, ऊँच नीच, जात पात, धनी गरीब, यो त्यो, यस्तो त्यस्तो केही हेर्दैन । चरित्र हेर्दैन, चिन्तन हेर्दैन, व्यवहार हेर्दैन, सिद्धान्त हेर्दैन..सायद यही अवस्था दर्साउन माथिको भनाइ भनिएको होला ।
हाम्रा प्रधानमन्त्रीको देश प्रतिको प्रेम मलाई यस्तै लाग्छ ! जसले जे भनोस् उहाँ देशलाई औधी माया गर्नुहुन्छ । कुनै कुनै अभिभावकले सन्तानलाई पाल्न ताल्न, खुवाउन नसके पछि दुःख पाउँछ भनेर औधी माया गरी गला दबाइदिन्छन रे, कुनै कुनै जनावरले आफ्ना सन्तानको औधी माया लागेर जन्मिने बित्तिकै चाटी चाटी छाला नै खोल्स्याइदिन्छन रे, माऊखानी भन्ने जनावरले माया गरी माऊलाई नै खाए झैं..यही हद सम्मको प्रेम हाम्रा प्रधानमन्त्रीले देशलाई गर्नु हुन्छ ।
प्रेम गरे पछि यस्तै ‘क्रेजी’ प्रेम गर्नु पर्छ । दायाँ बायाँ हेर्ने, यो त्यो सोंच्ने, समाज परिवेश हेर्ने, घर परिवारको सल्लाह कुर्नेले आफ्नो मान्छेलाई खास माया गरेको ठहर्दैन । ‘हद भन्दा बढी’ माया गर्नेले कसैको वास्ता गर्नुहुन्न,कसैका कुरा सुन्नुहुन्न । एक किसिमको पागलपन सवार हुनु पर्छ दिमागमा । विवेक,चेतना आदि कुरा प्रेमका बाधक हुन । प्रेममा त हिम्मत र आँट हुनु पर्छ । तब बल्ल गर्न सकिन्छ कसैलाई ‘हदै सम्मको प्रेम’ ।
प्रधानमन्त्रीले देशलाई गर्ने ‘हदै सम्मको प्रेम’ मलाई मन पर्छ । ऊँच नीच, यो त्यो, यस्तो त्यस्तो नहेरी गरिने प्रेम मलाई मन पर्छ । गहिरो प्रेम गर्ने खास तरिका नै यही हो ! कहिं केही नदेखी,नहेरी, आँखा चिम्लेर प्रेम गर्न सक्नु पर्छ ।
डोल्पामा दुःख छ, कालापानी-लिपुलेक-सुस्ता गुमेको छ, राजधानीमा धुलोको कुहिरो लाग्छ, दिनहुँ त्रिशूलीमा भाग्यहरू खस्छन, उखूँबारीमा आज पनि कोही निर्मला लुटिंदै होली, विमानस्थलमा प्रत्येक जहाजबाट रातो बाकस ओर्लिरहेछन, मन्त्रीले ठूलो कमिसनको चलखेल गरेछन, स्थानीय प्रतिनिधिले हेलिकप्टर बाट गाड़ी मगाएछन, बाजूराको चामल कुहिएछ, ताप्लेजुङकी गर्भवती अस्पताल नपाएर मरिछन, अस्पतालहरूले किड्नी पसल खोलेछन, स्कूलहरूले अभिभावकको मुटु धरौटी राखेछन, अड्डामा मालिकहरू म्यारिज खेलिरहेछन, अदालतमा ख्वामितहरू अपराध चोख्याइरहेछन, शिंहदरबारमा स्याल छिरेछन, बालुवाटारमा गिद्दले डेरा सरेछन… यी र यस्ता कुरा सम्झिने हो भने देशलाई माया गर्न सकिन्न, साँचो माया गर्न सकिन्न, ‘हदै सम्मको माया’ गर्न सकिन्न । त्यसैले यस्ता झीना मसिना कुरालाई बेवास्ता गरेर देशलाई माया गर्नु पर्छ ।
हिमाल-पहाड-तराई, बन जंगल, नदी, निधी र सिमाना चट्ट सजाइएको केक काटेर मनाइएको बर्थ डे मा झल्किएको प्रधानमन्त्रीको देश प्रतिको ‘हदै सम्मको प्रेम’ मलाई चाहिं मन पर्यो ।
म कामना गर्छु- महान प्रेमी हरू अमर रहून !
हेमन्त गिरीको फेसबुक बाट
प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्