‘यात्रा कहाँ सम्म ?’
-एउटा आवाज़ले झस्कायो !
देखें,
मेरै जस्तो ललाट,मेरै जस्तो भाग्य
मेरै जस्ता नयन,मेरै जस्ता सपना
मेरै जस्तो बन्धन
अनि फेरि..
मेरै जस्तो उड़ान !
प्रतीक्षाकक्षको आवाज गुनगुन
कोहि तस्वीरमा तल्लिन
कोहि बधाईका शौखिन
कोहि आफ्नो भाग्य आफै चिथोर्दै आफै भित्र हराउँदै
कोहि संसार जीते झैं ठूलो ठूलो स्वरले कराउँदै !
चारो खोज्न हिंडेको चरी झैं
टाढा उड्न तयार भिड बिचमा
मलाई सोध्ने ऊ मात्र
मलाई खोज्ने ऊ मात्र !
फेरि नियालेर हेरें,
ऊ भित्र आफू देखें
अनि ऊसंगै उड़ेर घर पुगें !
सबथोक सकिएको थियो घरमा
आमा ‘औषधि सकियो’ भन्दै कचकच गर्दै थिइन
बा ‘उमेर सकियो’ भन्दै गनगन गर्दै थिए
बहिनी ‘जोबन सकिन लाग्यो’ भन्दै झर्किन्थी
महिनादिनकी दुलही के बोलोस बिचरा !
भर्खर रोपेको गर्भको बिऊले
‘बाउ मुगलानमै सकिने भए’ भन्दै कटाक्ष गरे जस्तो लाग्थ्यो !
मुखिया ‘म्याद सकियो है ठूले !’ भन्दै कराउँथ्यो
साथीभाई ‘मज्जा नै सकिएको छैन हिंडिस?’ भन्थे
आफन्त ‘तैंले हामीलाई के पो दिइस?’ भन्थे !
म घेरिएँ ती आवाज़हरुले
म रयाख-रयाख्ती पारिएँ ती आरोपहरुले
अनि चिच्याएँ एकाएक
‘यहाँ सिंगो ज़िन्दगी मुग़लानमा सकिंदैछ
तिमेरु चुपो लाग !’
बेस्सरी चिच्याएछु क्यारे,
सम्हाल्यो साथीले र भन्यो-
‘सर सबै जहाज़मा गइसके
तपाइँ र म अन्तिम यात्री !’
फेरि हेरें उसलाई
शीर देखि पाउ सम्म
मुहार देखि मुटुसम्म
अनि बोलें एकै सासमा-
प्रिय मित्र,
तिम्रो र मेरो रंग मिल्दैन
जात पनि मिल्दैन होला
तिम्रो र मेरो अनुहार मिल्दैन
उमेर पनि मिल्दैन होला
पासपोर्टमा लेखिएको नाम पनि मिल्दैन
भिसामा डामिएको काम पनि मिल्दैन
थाहा छैन-
पागल ठान्यौ वा आफ्नो मान्यौ
तर अन्तिम सम्म साथ दियौ
मित्र, तिम्रो र मेरो त आत्मा मिल्दो रहेछ !’
‘एकै छिन पछि जहाज़मा बसेर
तिमीले र मैले झार्ने आंशु उस्तै हुनेछ
तिमीले र मैले छोड़ने धर्ती उहि हुनेछ
तिमीले र मैले भोग्ने भाग्य उस्तै हुनेछ
तिमीले र मैले गुमाउने संसार उहि हुनेछ’
म संग सबथोक मिल्ने
ए प्यारो अभागी साथी
किन सफ़ेद झूठ बोल्छौ ?
‘हामी नै अन्तिम यात्री हौं’ भनेर ?’
होईनौं साथी होइनौं !
तिमी र म रोई रोई गए पछि पनि
यो प्रतीक्षालयमा आंशु बगाउन
नेपाल आमाको जवान सन्तान
अर्को कोहि तयार हुनेछ !
सरकारले सपना खोसेर
उसलाई पासपोर्ट दिनेछ, अनि
परिवारले पासपोर्ट किनेको
उसको ब्याज चुकाइरहनेछ !
प्रतिक्रिया दिनुहोस्