प्रारम्भिक चरण:
यस बर्ष अर्थात २०७७ सालको विजया दशमीको टिका लगाउन कोरोनाको बढी जोखिमका कारण घर सल्लाह बमोजिम जन्मदिनु हुने बुवा, आमा र जेठाजु सँग टिका ग्रहण गर्न र आशीर्वाद लिन पाइएन । एउटा छोरा उच्च शिक्षा अध्यनको क्रममा अमेरिका र अर्को छोरा MBBS अध्ययनको अन्तिम चरणको पढ़ाईको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा बसेकोले पनि चाडबाडमा मन त्यति चंगा र उमंग भएको अवस्था थिएन । त्यसमा पनि यो बर्ष कोरोना महामारी बढ्दो भएकोले मन प्रफुल्ल हुने त कुरा भएन । दशै मान्न ठूलो छोरालाई नेपालगञ्जबाट टिकाको १ दिन अगाडि बोलाए र दशैँ मनाएसँगै अर्को दिन पठाईहाले । त्यसको अर्को दिन मेरा श्रीमान् माननीय भरत कुमार शाह रुपन्देही क्षेत्र नं. ५ को जनप्रतिनिधि भएकोले विभिन्न कामहरुको शिलाशीलामा आफ्नो जिल्लामा जानुभयो । साथै मेरा घरायसी काममा सहयोगी भाई बहिनीहरूपनि दशैँ पर्व मनाउन लामो छुट्टी लिई घरमा गएका थिए ।म घरमा एक्लै नै थिए ।कोजाग्रत पूर्णिमा अर्थात कार्तिक १५ गते पल्लो घरकि बहिनीले म एक्लै भएकाले आफ्नो घरमा खाना खान अनुरोध गर्नुभयो र सोही बमोजिम उहाँका श्रीमान् पनि कामबाट आएपछि दुबै भाईबहिनीको प्रस्ताबलाई सहजै स्विकार गरी ११ बजे तिर खाना खायौ । खाना खादै गफ गर्दै गर्दा मौषम पनि राम्रो भएकोले एक छिन जर्सिंगपौवा तीर घुमेर आउने छलफल भयो । एकैछिनमा जाने सल्लाह गरियो । त्यसपछि भाईको गाडीमा १ बजे तिर साँखु, जर्सिम पौवा जाने निर्णयका साथ अर्को छिमेकि बहिनीलाई समेत लैजाँदा रमाइलो हुन्छ भन्ने प्रस्ताव पल्लो घरकी बहिनीले राखेपछि हामी ३ जना दिदी बाहिनी र भाई भएर घुम्न निक्लियौ । कोरोना माहामारी बढ्दो भएकोले खाने कुरा घरबाट नै लिएर गएका थियौँ। अल्ली माथी पुगेर किरण बहिनीले लगेको सेलरोटी र अचार खायौ । पिङ खेल्ने रहर लागे सँगै पिङ पनि खेल्यौ ।
त्यस पछि जर्सीम पौवा हुदै घुम्दै साखु आउदा पल्लो घरकी बहिनीले भोक लागेको कुरा ब्यक्त गर्नु भयो र त्यहाँ एउटा रेष्टुरेन्टमा गएर खाजा चिया खाएर घर फर्कियौँ । त्यसको भोलि पल्ट भाई सुरजले अलि अलि टाउको दुखेको छ भन्नुभयो । गाडीमा ए.सी लगाएर वा मौसमी परिवर्तनको कारणले होला भन्ने ठान्यौ ।
त्यस पछि हामी सबै आ-आफ्नो काम्तीर लागियो । म पनि आफ्नो काम तिर नै व्यस्त रहे। दुई तीन दिन सम्म भाई बहिनी सँग भेट भएन तेस्रो दिन दुबै लाई ज्वरो आएको जानकारी गराउनुभयो । औषधी पनि खाई रहेको जानकारी गराउनुभयो । तेश्रो दिन मंगलबार मेरो घरमा आएर किरण बहिनीले पनि अलिअलि घाँटी दुखेको र ज्वरो आएको कुरा गर्नुभयो ।
मलाई भने १ महिना पहिले देखी नै घाँटी अलि दुखेको महशूस भएको थियो । मेरो घाटीमा पहिले देखिनै अलि अलि समस्या हुने भएकोले मैले त्यतातीर खासै ध्यान दिईन । पछि बुधवारबाट भने अल्ली बढी नै दुखेको जस्तो अनुभव भयो । एक पटक ENT डाक्टरको मा गई चेकअफ गर्ने निर्णय गरे । ENT डाक्टरले घाटीमा त्यस्तो समस्या देखि । एको छैन भन्नु भयो । तर त्यसको पर्सी पल्ट अर्थात बिहीबारको दिनको साँझमा मेरो घाटी अलि बढी दुखेको जस्तो लाग्यो कारण सबै भाइ बैनीहरु बिरामी परेको (ज्वरो आउने, शरीर दुख्ने, स्वाद र गन्ध जाने ) लक्षणहरु देखिएको सुनेर पनि मलाइ बढी शंका लाग्न थाल्यो । त्यसको भोलि पल्ट बिहान अलि अलि शरीर पनि दुखेको जस्तो भयो र आफुले PCR Test (कोरोना परीक्षण) गर्ने र अरुलाई पनि परिक्षण गर्न सल्लाह दिए । सबैले उसै दिन परीक्षण गरियो बेलुका सबैजनाको कोरोना पोजटिभ भएको जानकारी प्राप्त भयो ।
कोभिड १९ पोजेटिभ भइसकेपछि म आफ्नो व्यवस्था गरेर छुट्टै एटेज बाथरूम र कौशी भएको कोठामा अलग्गै बसीरहेकी थिए । उक्त दिन साँझ मेरा धर्म पति माननीय भरत कुमार शाह ९/१० दिन आफ्नो निर्वाचन क्षेत्र घुमघाम तथा कार्यक्रमहरुमा सहभागि भएर काठमाण्डौँ घर फर्कनुभयो ।
त्यसपछि बिस्तारै मलाई टाउको दुख्ने, शारीर दुख्ने जस्ता कोभिड १९ का केही लक्षणहरु देखिने क्रम बढ्न थाल्यो ।खानाखाने इच्छा अनी स्वाद भने पटक्कै हराएको थिएन । सबै खानेकुरा हरु आफै कोटामा पकाउथे र खानेकुराहरुको स्वाद गन्ध सबै महशुस गरीरहेकी थिए । भिटामिन C, D, Jinc चक्कीहरु पनि साथसाथै खाइरहेकी थिए ।
आइतबार बाट अब अल्ली सहज भएको हो भन्ने अनुभूति के भएको थियो , एक्लै कोठामा समय कसरी बिताउनेभन्ने सोचेर केहीपुस्तक अध्यनय गर्ने निर्णय गरे र राजालाई पुस्तक किनेर ल्याई दि । न अनुरोध गरे । वहाले चन्द्र बानियाको ‘महारानी’ र विजयकुमारको ‘सम्बन्धहरु’ लगायतका ५ बटा पुस्तक ल्याइदिनुभयो। त्यसै दिन दिउँसोबाट मलाइ लगातार ९० डिग्री देखी १०१ डिग्री सम्म ज्वारो आउन शुरु गर्यो । सोही क्रममा मलाई अल्ली बढी खोकि लाग्न सुरु भयो । बिस्तारै शरीरमा अक्सिंज ९३, ९२ बाट एक पटक ८९ मा झर्न गयो । सोमबार बिहान करीब ९ बजे को थियो, मेरा डाक्टरसाथीहरु संग् परामर्श लिने बिचार गरे । वहाहरुको सल्लाह च्नुसार कोरोनाको संक्रमणमा धेरै जोखिम लिन नहुने सल्लाह दिनु भयो । घरको नजिकै HAMS र NORVIC Hospital भएको ले दुवै ठाउमा कुरा भयो । NORVIC मा आफन्त भएकोले हामी दुवै जनाले त्यहाँ केहि सहज हुने ठानियो र घरकै गाडीमा चार वटै झ्यालका शिशा हरु खोलेर श्रीमान् र ड्राइभरलाइ कसरी जोगाउने भन्ने मानसिक तनाबमा NORVIC hospital पूगे।
अस्पताल बस्दाको अनुभव:
केही समयको प्रारम्भिक जाच पड्ताल पछि बेलुका छातीको CT SCAN गर्न भनी COVID-19 fever क्लिनिकमा दिनभरको Observation मा राखियो । कोभिड बिरामीहरुको लागी छुट्टै भवनको ब्यबस्था रिचा अनि CT SCAN गर्ने समय पनि बेलुका ८ बजे पछि मात्र निर्धारण गरिएको रहेछ । राती करीब ९:३० बजे तीर एम्बुलेन्समा सबै प्रकृतीका कोभिड बिरामीहरुको साथमा मैले पनि अस्पतालको वल्लो भबन बाट पल्लो भवन भ्रमण गर्ने सुनौलो मौका पाए । अत्यन्त बिरक्ताताका साथ CT सकेन गरी सोही एम्बुलेन्स मा उस्तै तरीकाले COVID fever Clinic भवन मा फर्किए । मेरो मानसिकतामा COVID का विश्व भरीका बिरामी हरुको ब्यबस्थापनमा बिगत १० महिना देखि हेरेका दृश्यहरु सरर आउन थाल्यो । तर पनि हिम्मत त पटक्कै हारेको थिइन् । किनकि मलाइ लाग्दै थियो कि, म अस्पतालमा भर्ना हुने गरी बिरामी भएको छैन । जब डा जे पी जैशावालज्यू ले CT को Report हेर्नु भयो र भन्नु भयो कि मलाई केही कम प्रतिशत निमोनिया देखिएकोले ५ दिन सम्म्ँ हस्पिटलमा भर्ना हुन पर्छ र REMDISIVIR औषधीको साथमा अरु Antibiotic औषधी पनि दिनु पर्छ । मनले मान्दा नमान्दै डाक्टरको सुझाव अनुसारपनि राती ११ बजे भर्ना भए । ६० वर्ष नाघेका श्रीमान् अर्थात मेरो राजा त्यसबेला सम्म COVID का बिरामी राख्ने अस्पतालको बाहिर चिसोमा बसीरहनु भएको थियो त्यो पीडाले झनै ब्याकुल भएकी थिए । भर्ना सम्बन्धी सम्पूर्ण काम हरु सकी वहा रातको १२:३० मा घर फर्कनु भयो । अब खान मन लागे क्यान्टिन बाट मगाएर खाने नभए अरु कुनै पनि कुरुवाको आबस्यकता छैन भन्नु भयो । मैले श्रीमान् लाइ त्यहि कुरा भने त मनले के मान्थ्यो दिनको एक चोटी वहा अस्पताल पुग्नु भयो । मेरा दुवै छोराहरु बाहिर भएको ले मन असाध्यै पोले छटपटी हुने गर्थ्यो । तर सबै कुरा सहनको लागि बिबश थिए । मैले यो संसारमा केहि कमाउन नसके पनि मलाइ माया गर्ने साथीभाई र इस्टमित्र कमाएको रहेछु अस्पताल मा ५ दिन बस्दा पनि कुनै छाक खान क्यान्टिन बाट मगाउनु परेन र मलाइ स्वास्थ्य लाभको कामनाको ओइरो पनि त्यत्तिकै आएको थियो सम्भब भए सम्म सबी संग कुरा गर्न प्रयास गरेकी थिए । चिकित्सक टोली, सम्पूर्ण स्वास्थ्यकर्मी जसले मलाइ प्रोत्सान र हौशला प्रदान गर्यो उसको पनि मा बयान गर्ने सक्दिन । शब्दमा व्यक्त गर्न नपुग्ने सबैको माया प्रति कृतज्ञ छु हजुर!!
पाँचौ दिनसम्म्ँ हस्पिटलको बसाईपछि शुक्रबार साँझ घरमा आउँदा डाइबर भाईले राजालाई खाना बनाउँदै थिए । मेरो मन कटक्कै खाएको थियो के गर्ने बाध्य बिबश थिए टुलुटुलु हेर्ने बाहेक मा के नै गर्न सक्थे र? मलाई मेरो इष्ट मित्र भाई छिमेकीहरूले खाना पु-याइरहनु भएको थियो । घर छोडेको दिन देखि जस्ताको त्यस्तै थियो कोठा, अनि मेरो दूबै हातमा औषधी सलाइन दिएको कोभिड को बिरामी भनिएकी म आफ्नो कोठा सफा नगरी कसरी सुत्न सक्थेर? एक मूठी बाक्लो फोहोर धुलो भुइमा अनी झ्याल मा माकुरा को जालों सबै सरसफाई गरी कोठा पोछा लगाए सबै सफा गरी नुहाई धुवाई अनी साथिहरूले ल्याई दिएको खाना मासु दुबैलाई तताएर खाए अनि राती दश बजे बेडमा पल्टिन पूगे र मेरो जन्म दिनको दिनमा अस्पताल बाट घरमा त फिर्ता ल्याइदिनुभयो भनी भगवान लाइ कम्तीमा धन्यबाद भने अनि निदाउने प्रयास गरे । त्यस पछि औषधी खाए अनी सुत्ने प्रयास गरे
सामाजिक अनुभव :
अनौठो अनुभुती हुदैँ थियो । कोरोनालाई सजिलो सँग जित्न पनि थियो । जनस्वास्थ्यको विधार्थी एवम् समाजसेवी भएको हुँदा सबैलाई सरसल्लाह पनि दिइरहेकी थिए । जब आफूलाई पर्न गयो तब हतोत्साहित हुन पुगेछु । निन्द्रा नपरे सँगै निन्द्रा लाग्ने औषधी खाए सँगै भुसुक्क निदाएछु र भोलि पल्ट लक्ष्मी पूजा थियो । गत वर्ष कान्छा ससुराको स्वर्ग बास भएकोले टीका थिएन । यस वर्ष पनि कोरोना संक्रमित भएकाले पूजा गर्न जूरेन । शरीरमा त्यति फुर्ती आईसकेको थिएन । छिमेकीको घरमा पहेला बत्ती अनी झकमक्क झिलिमिली हेरि चित्त बुझाई बसेकी थिए । लक्ष्मी पूजा गर्ने समय पनि आयो । मन थाम्न नसकेर सुरक्षा मापदण्ड अपनाएर पूजा कोठा मा रहेको दियोमा बत्ती र तेल राखेर बत्ती बाले । आफूले रोपेको गमलाको फुल टीपि माला बनाई भगवानको तस्वीरमा माला पहीराई सस्टङग दण्डवत ढोग गरे । त्यो मेरो विशेष दियो पानश र बत्ती अनवरत ३ दिन सम्म बली नै रह्यो । मेरो शरीरमा आशाका नयाँ पालुवा पनि पलाउदै आए ।गत वर्ष भाई टिकाको याद आइरह्यो भाईहरू पनि नियमित सम्पर्कमा नै थिए दुबै भाईलाई मुटुमा गाँठो पारी अर्को वर्ष रमाइलो गरी तिहार मनाउला हैँ भनी भनेर बिस्तारै खानपिनमा ध्यान दिदैँ गए शरीर पनि फुर्तीलो बन्दै गयो ।
मानिस आफैमा सामाजिक प्राणी भएकोले म पनि यसबाट अछुतो रहन सकिन फोनमा कुरा गर्दा पनि कोरोना सर्ने सम्भावना हुन्छ कि भन्ने भ्रम पालेका मानिसहरू पनि यो समाजमा हँुदा रहेछन् । कोरोना आफैमा पनि अनौठो रोग हो त्यसमा पनि संक्रमित ब्यक्तीले आफ्नो स्याहर पुर्ण रूपमा आफै गर्नुपर्दा उसको लागि साधारण त एक फोन पनि निक्कै प्रेरणा र शाहस बन्दो रहेछ । मनोबैज्ञनिक रूपमा त्रास फैलिरहेको शरीरमा सबैको साथ सहयोग एवम् सद्भाबको अपेक्षा प्रत्येक संक्रमित बिरामीले राखेको हुदोरहेछ ।
त्यसमा पनि समाजसेवी, जनस्वास्थ्य विद् एवम् सक्रिय महिला समेत भएकोले हुँदा पनि होला सामाजिक संजलमा मलाई स्वास्थ लाभको कामना गर्नु हुनेको संख्या ठूलो नै थियो । त्यही बिचमा जन्म दिन पनि परेको हुँदा थाहा नपाइने त कुरै भएन । महामारी रोग सँग संघर्ष गर्दै गरेको बेला हजुरहरुको फोन एवम् हौसलाले मलाई कोरोनालाई सहजै परास्त गर्न हौसला बढ्यो ।
आज भन्दा १५ वर्ष अगाडी सन् २००६ मा जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययन गर्न बंगलादेश बस्दा पनि डेंगुबाट संक्रमित भई बाँचेर आएको म पुनM सयोग नै होला कोरोना जस्तो महामारी रोगको संक्रमित पनि भए । उस बेलामा पनि बंगलादेशमा पढ्न बस्ने सबै जसो बैनी दाइ भाइ र बैनीको अस्पताल भर्ना हुदा होस् वा घरमा होस् अत्यन्तै माया र स्याहार सुसारले गर्दा बाचेर आएकी हु । सबैको नाम लिन सम्भब नभएको ले वहाहरु सबैलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यबाद दिन चाहन्छु । यस्तो विषम परिस्थितिमा एक्लो हुदाँ समेत एक्लो महाशुस गराउनु भएन सायद त्यही हजुरहरुको को साथ सहयोग एवम् मायाबाट नै दुई÷दुई वटा महामारी रोग सँग लडेर संघर्ष गरी विजयी प्राप्त गर्ने उर्जा एवम् साहाश तपाईहरुको अपार माया एवम् आर्शिवादबाट नै प्राप्त गरेकी हुँ ।मलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक आभार तथा नमन व्यक्त गर्दछु , मलाई अस्पातल बस्दा सहयोग गर्नुहुने सम्पूर्ण डाक्टर एवम् स्वास्थ्य कर्मी प्रति कृतज्ञ छु ।
मेरो अनुरोध:
सधै उच्च सतर्कता र सचेतना राख्दा राख्दै पनि कोरोना संक्रमण कसरी हुन्छ भन्ने कुराको ख्याल राखौ ।
१ आफु बाहेक सबै कोरोना संक्रमितहरु हुन् भन्ने सोचेर आफ्ना ब्यबहारमा सतर्कता ल्याऊ ।
२ कोरोना संक्रमित हुन बाट बच्नको लागि जनस्वास्थ्य मापदण्डको उच्चतम प्रयोग गरौ
३ ताँतो पानी नियमित पिउने गरौ र तातो खानेकुराहरु बढी सेबन गरौ
४ झोलिलो पदार्थ बिषेश गरी प्रोटीनयुक्त खानेकुरा बढी मात्रामा खाऔँ
५ संक्रमण भइ सके पछि जथाभावी औषधीको प्रयोग नगरौ ।
६आफ्नो शरीरको अक्सिजनको नियमित परीक्षण गरौ ।
७ ज्वरो आएमा सिटामोल खाने गरौ तर १०० डिग्री भन्दा माथी ज्वारो आएमा वा आप्ठ्याारो महशुस भएमा डाक्टर सँग सम्पर्क गरौ र नजिकको स्वास्थ्य संस्थामा जाऊँ ।
८ बिरामीलाई स्याहर गर्नुको साथै मनोबैज्ञनिक परामार्श सहित साहसी र संयम बनाउन उत्प्रेरणा दिऔ ।
प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्