बुटवल,
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार दलको रणनैतिक मोर्चाले संसदिय व्यवस्थाको विकल्पका लागि भन्दै बिहीबार बुटवलमा गरेको प्रदर्शनमा बिद्यार्थीहरुलाइ सामेल गराइएको छ । बुटवलको ट्राफिकचोकमा मोर्चाको सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुस निस्केको थियो । बुटवलको कालिका उच्चमावि, न्युहोराइजन उच्च मावि, एभरेष्ट उच्च मावि, दिप उच्च मावि, अक्सफोर्ड,कान्ति उच्च मावि लगायतका बिद्यालयका एघार÷बाह्र कक्षाका बिद्यार्थीहरुलाइ प्लेकार्ड बोकाएर जुलुसमा सहभागी गराइएको हो ।
संयुक्त बिद्यार्थी संंगठनको आयोजनामा निर्मला र भागरथी हत्या प्रकरणका अपराधीलाइ कारबाहीको माग स्वरुप बिरोध गर्न लागीएको भन्दै बिद्यार्थी पठाइदिन दवाव आएपछि बाध्य भएको बुटवलको एक निजी बिद्यालयका प्रार्चायले बताए । ‘कुनै दल वा दल निकटको कार्यक्रममा बिद्यार्थीलाइ सहभागी गराउदैनौं । तर आज बिद्यार्थीकै कार्यक्रम भनेर हामीलाइ पनि ढाँटियो र बिद्यार्थी पठाउन दवाव दिइयो’ निजी बिद्यालयका ती प्रार्चायले भने ।
देशकै अब्बल भनिएको समुदायिक बिद्यालय कालिका उच्च माविका प्रार्चाय बिष्णुहरि ज्ञवालीले भने एघार बाह्र कक्षाका बिद्यार्थीहरु स्वःस्फुर्त रुपमा रयालीमा सहभागी भएको प्रतिक्रिया दिए । तर सोही बिद्यालयका बिद्यार्थीहरुले भने स्कुलकै निर्देशनमा रयालीमा सहभागी भएको प्रतिक्रिया दिएका छन । सोही स्कुलका एक जना बिद्यार्थीले आफुहरुलाइ निर्मला र भागरथी हत्याका बिरुद्धको प्रदर्शनकलागि भन्दै स्कुलकै सरहरुले पठाएको बताइन । सोही स्कुलका एक जना शिक्षकले पनि रयालीमा गएका केही बिद्यार्थीहरुले कार्यक्रम आफुहरुलाइ भनिए भन्दा फरक भएको भन्दै गुनासो गरेको नागरिकलाइ बताए ।
सुरुमा बिद्यार्थीहरु स्वःस्फुर्त सहभागी भएको प्रतिक्रिया दिएका कालिकाका प्रचार्य ज्ञवालीले बिद्यार्थीको प्रतिक्रियाका सम्बन्धमा जानकारी गराएपछि भने परिस्थिती जन्य अवस्थाका कारण बिद्यार्थी पठाउन बाध्य भएको प्रतिक्रिया दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले राजनीतिक पार्टीको झण्डा मुनीका कुनै पनी कार्यक्रममा बिद्यार्थी सहभागी गराउन नपाइने बताए । बुटवलको कार्यक्रममा बिद्यार्थीहरुलाइ सहभागी गराइयो र बिद्यालयलाइ दवाव दिइयो भन्ने जानकारी पाएपछि आवश्यक अनुशन्धान गरीरहेका छौं’ प्रजिअ घिमीरेले बताए । ‘बिद्यालयहरुलाइ कुनै दवाव आयो भने तत्काल सुरक्षा निकाय तथा प्रशासनलाइ जानकारी गराउनु पर्छ । सुरक्षाको बहाना बनाएर त्यस्ता कार्यक्रममा बिद्यार्थी पठाउन पाउनुहुन्न’ प्रजिअ घिमिरेले भने ।
संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा नेताहरुको जोड
माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो । मुलुक अहिले प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा ध्रुविकृत भइरहेका बेला मोर्चाका नेताहरुले संसदीय व्यवस्थाबाट देशले निकास नपाउने तर्क गरे ।
आफ्नै दलभित्रको झगडा मिलाउन नसकेर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र उनलाइ साथ दिने नेताहरुबाट देशले निकास पाउनै नसक्ने दावी उनीहरुको छ । प्रतिनिधि सभा बिघटनको घटनाले संसदीय व्यवस्था नै असफल भएको पुष्टी भएको बताए । नेताहरले संसदीय व्यवस्था ध्वस्त गरेर जन गणतन्त्रतात्मक समाजवादी व्यवस्थाले मात्रै देशलाई निकास दिने तर्क गरे । मोर्चाका नेताहरुले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन सरकारसंग माग पनि गरे ।
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था ध्वस्त पार्नु पर्ने बताए । संसदिय व्यवस्था जनताको शासन व्यवस्था नभएको भन्दै उनले त्यसलाइ ध्वस्त पार्नुपर्ने बताएका हुन । चुनाव र संसद पुनःस्थापना दुबैले निकास नदिने उनको भनाइ थियो । ओली नेतृत्वको नेकपा प्रतिगामी र प्रचण्ड–माधव नेपालहरु यथास्थितिवादी भएको आरोप लगाउंदै उनीहरु कम्युनिष्ट नै नभएको दावी गरे ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेत्रविक्रम चन्द विप्लव माथिको प्रतिबन्ध हटाउन मागे । विप्लव शान्तिपूर्ण राजनीतिमा आउन चाहेकाले असंवैधानिक तरीकाले लगाइएको प्रतिवन्ध हटाउनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिले नेकपाले नेतृत्व गरेको दुई तिहाईको सरकार असफल हुनुले यो व्यवस्थामै ठूलो प्वाल परेको र संसदीय व्यवस्था नै असफल भएको तर्क गरे । राष्ट्रिय समीक्षा सभा गर्न र सहमतिको सरकार बनाउनु पर्ने माग गरे । कार्यक्रममा गुणराज लोहनी,डा. ओम गुरुङ, नागरिक समाजका पदम कार्की लगायतले संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
सभा अघि निस्केको जुलुसका सहभागीहरुले संसदीय व्यवस्था खारेज गर, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्