दलितले छोएको खाँदा बहिष्कृत, न्याय दिन आयोगको आग्रह

दलितले छोएको खाँदा बहिष्कृत, न्याय दिन आयोगको आग्रह

खोटाङ – राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित हिसाबले सामाजिक बरिष्करणको सिकार बनेका एक वृद्द पुरुषलाई न्याय दिन सरकारलाई आग्रह गरेको छ ।

सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन आयोगले प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको हो । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा आचार्य सामाजिक बहिष्करणमा परेका हुन् ।

आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको छ । आफन्तबाटै अघोषितरूपमा बहिस्कार गरिएको घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए ।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो । जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगले सामाजिक कुरीति तथा विभेदविरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानुनद्वारा दण्डनीय हुनसक्ने कुनै पनि कार्य गर्न÷नगराउन स्थानीयवासी एवं राजनीतिक दललाईसमेत आग्रह गरेको छ । घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए । घरमा कुशेऔँशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ ।

समाजमै अघोषित बहिस्कारको सीकार बनाइएको भन्दै आचार्यले न्यायको याचनासहित २०७६ भदौ ३ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए । सामाजिक बहिस्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि कारबाही भएको छैन । रासस

प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij