सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेसनमा अक्सिजन सहयोग

सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेसनमा अक्सिजन सहयोग

 

भैरहवा
नेकपा एमाले उप–महासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सियारी र शुद्धोधन गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई अक्सिजन उपलब्ध गराएका छन् ।

भुसालको सहयोगमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर बुधबार सियारी अध्यक्ष अयोध्या थारु र वडा नम्बर ७ का अध्यक्ष सरोज अधिकारी तथा शुद्धोधन अध्यक्ष किशुनचन चौधरीलाई हस्तान्तरण गरिएको छ । भुसालको रुपन्देही क्षेत्र नम्बर ३ संसदीय सम्पर्क कार्यालयका प्रमुख मनोजकुमार रिजाल, सिद्धार्थनगर–३ का अध्यक्ष थानेश्वर पौडेल, युवा नेता किरण नेपाल लगायतले आइसोलेसन सेन्टरमा पुगेर अक्सिजन कन्सन्ट्रेटर अध्यक्षद्वयलाई हस्तान्तरण गरेका हुन् ।

पूर्व कृषि मन्त्रीसमेत रहेका भुसालले आइसोलेसन सेन्टरमा उपचाररत विरामीहरुलाई अक्सिजन अभाव नहोस् भनेर सहयोग उपलब्ध गराएको संसदीय सम्पर्क कार्यालय प्रमुख रिजालले बताए ।

‘अक्सिजनकै अभावमा कुनै पनि नागरिकको ज्यान जोखिममा नपरोस् भनेर माननीयज्यू अत्यन्तै संवेदनशील हुनुहुन्छ’, उनले भने, ‘त्यसैले उहाँले व्यक्तिगत सहयोगमा खरिद गरिएका अक्सिजन आवश्यकता हेरेर दुईवटा स्थानीय तहका आइसोलेसन सेन्टरमा उपलब्ध गराइएको हो । अन्य ठाउँमा पनि आवश्यकता अनुसार उपलब्ध गराउने छौं ।’

रिजालका अनुसार सियारी वडा नम्बर ७ पश्चिम अमवामा संचालन गरिएको अस्थायी आइसोलेसनमा दुईवटा र शुद्धोधनको आइसोलेसन सेन्टरमा एउटा अक्सिजन कन्सन्ट्रेटर भुसालले सहयोग गरेका छन् । सियारी अध्यक्ष थारुले अक्सिजन अभाव भइरहेका बेला प्राप्त सहयोगले धेरै संक्रमितको उपचारमा सहयोग पुग्ने बताए ।

भुसालले यसअघि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । नगरपालिकाका अनुसार भुसालले उक्त आइसोलेसन सेन्टरलाई एक सय थान बढी पीपीई, ८ सय पिस माक्स र २३ थान थर्मल गन सहयोग गरेका हुन् ।

भुसालको संसदीय कार्यालयका अनुसार भैरहवास्थित भीम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोगको तयारी भइरहेको छ । रिजालले भने, ‘भीममा तत्काल के–कति र कस्ता किसिमका उपकरण आवश्यक छ, पहिचान गरेर सहयोग गर्ने तयारी गरिरहेका छौं ।’

सांसद भुसालको पहलमा चालु आर्थिक वर्षमा भीम अस्पतालका लागि नयाँ भवन निर्माण गर्न संघीय सरकारबाट ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै, भवन निर्माणमा अपुग रकम लुम्बिनी प्रदेश सरकारबाट व्यहोरिने गरी अहिले नयाँ भवन निर्माणको ठेक्का समेत लगाइसकिएको छ ।

यस्तै, भुसालले सिद्धार्थनगर वडा नं. ११ मा स्वास्थ्य चौकी निर्माणका लागि बजेटसमेत उपलब्ध गराएका थिए । त्यहाँ स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेको छ । यस्तै, मायादेवी गाउँपालिका–७ मा पनि स्वास्थ्य चौकी निर्माणका लागि भुसालले बजेट उपलब्ध गराएका थिए । यहाँ स्वास्थ्यचौकी निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij