रुपन्देही
लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षरोपण आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल– १३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
स्वच्छ र हराभरा प्रदेश बनाउन सरकारले एक घर दुई विरुवाको अवधारणा ल्याएको भन्दै उहाँँले यसलाइ कार्यान्वयन गर्नका लागि सबै प्रदेशवासीलाई आग्रह गर्नुभयो ।
सामाजिक क्षेत्रमा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री पाण्डेले जहाँ विपद् हुन्छ, त्यहाँ स्काउट पुग्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो ।
स्काउटका प्रदेश संयोजक दीनानाथ भट्टराईले स्काउटको सिद्धान्त र मान्यता अनुरूप प्रदेशमा युवाको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित स्वावलम्बी र चरित्रवान बनाउँदै सामाजिक सेवाको भावना जगाउने काम भइरहेको सुनाउनुभयो । उहाँले २००९ सालमा स्थापना भएदेखि स्काउट सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको बताउँदै प्रदेशमा पनि सेवाको भावाना राखेर काम भइरहेको जानकारी गराउनुभयो ।
पाणिनि उद्यानका अध्यक्ष ऋषि आजादले जितेश्वरी वन क्षेत्रभित्र पर्ने उद्यानमा ग्रामिण सडक निर्माणसँगै आकर्षक पार्क निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले उद्यानका लागि यो वर्ष संघीय सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको जानकारी गराउँदै यसबाट थप संरचना निर्माण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रम अन्तर्गत पाणिनि उद्यानमा आँप, अमला, बेल तथा विभिन्न प्रजातिका दुई सय विरुवा रोपिएको थियो । रोपिएको विरुवा संरक्षण तथा रेखदेखका लागि नगर समितिलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा समाजसेवी दीपक पन्थी, स्काउटर तारा पुरी, भरत अर्याल लगायतले समुदायमा प्रदेशमा आइपर्ने विपद्का घटनामा स्काउट जहिले पनि अगाडि बढेर सहयोग गरेको बताउनुभयो । कार्यक्रमअघि पाणिनि उद्यानमा सरसफाइ गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, असार ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्