देउवाको निर्देशन : निर्धारित समयमै महाधिवेशन हुन्छ, क्रियाशील सदस्यता चाँडै टुङ्ग्याउनुस्

देउवाको निर्देशन : निर्धारित समयमै महाधिवेशन हुन्छ, क्रियाशील सदस्यता चाँडै टुङ्ग्याउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले क्रियाशील सदस्यतालगायतका विषयमा छलफल गर्न नेताहरुलाई बोलाएको नेता एनपी साउदले जानकारी दिए । नेता साउदकाअनुसार बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकसमेतको उपस्थिति थियो । नेता साउदले मकालुखबरसँग भने— ‘खासगरी क्रियाशील सदस्यताबारे नै छलफल भयो ।’

छलफलका क्रममा सभापति देउवाले क्रियाशील सदस्यता चाँडै टुङ्ग्याउन समितिलाई निर्देशनसमेत दिएका छन् । सभापति देउवालाई उद्धृत गर्दै नेता साउदले भने— ‘हामीलाई संवैधानिक अड्चन पनि छ । त्यसो हुँदा निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । जतिसक्दो चाँडै क्रियाशील सदस्यता टुङ्ग्याउनुस् ।’

छलफलमा छानबिन समितिका संयोजक लेखकसँगै सदस्यहरुले सदस्यतासम्बन्धी देखिएको समस्यालगायतका विषयमा ब्रिफिङ्ग गरेका थिए । त्यसपछि सभापति देउवाले सम्बोधन गर्दै चाँडै सदस्यता टुङ्ग्याउन भनेका हुन् ।

करिब ५ सय वडामा क्रियाशील सदस्यतासम्बन्धी समस्या रहेको संयोजक लेखकले बताएका थिए । लेखकले भनेका थिए— ‘त्यसमा पनि करिब ३ सय वडाको समस्या समाधन गर्न गाह्रो छ । १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई कायम राखेर भए पनि अगाडि बढ्दा राम्रो हन्छ ।’

शुक्रबार (हिजो) पार्टी कार्यालय, सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानबिन समितिका सदस्यसहितको छलफल राखेका हुन् ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता साउदसँगै छानबिन समितिका संयोजक लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी सहभागी थिए ।

कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । वडा तथा नगरको महाधिवेशन साउन १२ बाटै शुरु हुँदैछ ।

प्रकाशित मिति : शनिबार, असार १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij