काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने सहमति गरेको छ।
शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा सहमति गरेको हो।
नेता अर्जुननरसिंह केसीले सभापतिमा शेरबहादुर देउवाविरुद्ध सस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल केन्द्रीत भएको बताए।
पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको उनको भनाई थियो।
‘पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरुबीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत हो’, केसीले भने,‘त्यसका निम्ति आवश्यक मोडालिटी र आधारहरु बनाएर एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो।’
क्रियाशील सदस्यतामा देखिएको विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीतिको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए।
बैठकपछि नेतृ सुजाता कोइरालाले संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन्। आफुहरु एक भएर अघि बढ्ने भन्दै उनले उम्मेदवारको विषयमा कुनै विवाद नभएको सुनाइन्।
‘विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौं, निर्णय भइसकेको छैन तर अब छिटो हुन्छ’ कोइरालाले भनिन्,‘ हामी सबै एक छौँ। एक भएरै जान्छौँ। एकजनाको उम्मेदवारी दिन्छौँ।’
कांग्रेस १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिइरहेका छन्। कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन्।
प्रतिक्रिया दिनुहोस्