काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमै हुने बताउनुभएको छ ।
आज शुक्रवार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गर्नुभएको हो । उहाँले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताउनुभयो । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुस्मनी बढाउनु नहुने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै–हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित–हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित–हारमा दुस्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जित–हारमा दुस्मनी नबढोस् । त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन, अधिवेशनको तयारीमा लाग्नु होला ।’
प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गर्नुभयो । बेलायतमा मन्त्रीहरुले एस्ट्रेजेनेकाकाे खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उहाँले सबैलाई तीन पटक एस्ट्राजेनेकाकाे खोप लगाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भक्तपुरका एक सांसदलाई वाग्मती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्