कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार टुंग्याउन दुवै पक्ष आन्तरिक छलफलमा

कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार टुंग्याउन दुवै पक्ष आन्तरिक छलफलमा

काठमाण्डाै – सभापतिसहित पदाधिकारीको उम्मेदवार चयन गर्न कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन ।

संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दावी गरेका छन् । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फका पदमा आकांक्षीको संख्या धेरै छ ।

यस्तै सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पनि बस्दैछ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले भने सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसक्नुभएको छ । पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागेको छैन ।

यसरी चुनिनेछन् पदाधिकारी र केन्द्रीय सदस्य

कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाण्डौमा हुनेछ । २४ गते शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गतेसोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

देश संघिय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १ सय ६७ जनाको केन्द्रिय समिति बनाउने छ । महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । कांग्रेसको संसोधित विधान अनुसार सह-महामन्त्रीहरु विभिन्न क्लस्टरबाट उम्मेदवार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।  महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य मध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।

१४ औं  महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गने व्यवस्था विधानमा छ । केन्द्रिय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरि २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिने छन् ।

यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रिय सदस्य बिधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ । निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन् । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नु पर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रिय सदस्यमा पुग्नेछन् ।

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij