काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिनेछ । दलहरुले पर्सि १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा निवेदन बुझाउन सक्नेछन् ।
प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
एकल चुनाव चिह्न लिइ संयुक्त रुपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रुपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरुले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरुले संयुक्त हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।
दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
त्यस्तै उम्मेदवारको बन्दसूचीबारे असोज २२ मा सूचना प्रकाशन गर्ने कार्यसूची छ । कात्तिक ९ गते बन्दसूचीको अन्तिम प्रकाशन गर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्