पाल्पा,
पाल्पामा पौडी खेल्ने क्रममा खोलामा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको तिनाउ गाउपालिका र रैनादेवी छहरामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो ।
तिनाउ गाउँपालिका ३, सिद्धबाबा नजिकै तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारत जिल्ला गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय विपिन धुसियाको साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साथीहरूले तत्काल डुबेका धुसियालाई निकालेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
रैनादेवी छहरा गाउँपालिका–८, जलुके झर्नामा पौडी खेल्ने क्रममा सोमबार २२ वर्षीय युवाको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका २, रजाडका सञ्जय चौधरीको साथीहरूसँग पौडी खेल्ने क्रममा जलुके झर्नामा डुबेको र साथीहरूले उद्धार गरी तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पठाए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी थापाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै पाल्पाको खोला तथा नदीमा डुबेर दिनहुँजस्तै मृत्युको घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार ४ गते सोमबारसम्म २२ जनाको खोला तथा नदीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गर्मी बढेपछि मात्र १६ जनाको डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा घुम्न आउने आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकहरू रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । तिनाउ गाउँपालिका ३, तिनाउखोला ड्याम साइड, भूतखोलास्थित पानी पोखरीमा पौडी खेल्ने, फोटो खिच्ने क्रममा डुबेर मृत्यु हुने गरको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै तिनाउ खोलामा रुपन्देही र तराईका विभिन्न जिल्लाबाट पौडी खेल्न, घुम्न आउने क्रम बढेको छ ।
तिनाउ खोला, कालीगण्डकी नदी र अन्य खोलामा डुबेर पुरुष १२, महिला २, बालक ५, बालिका ४ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३, भूतखोला, ड्याम साइड र तिनाउ खोलामा मात्र एक जना महिला, ६ जना पुरुष, २ बालबालिकाको डुबेर मृत्यु भएको हो । अन्यको भने कालीगण्डकी र केही अन्य खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय तहबाट सम्भावित दुर्घटना हुने स्थानमा सुरक्षाको उपाय अपनाउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्