कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन : तहगत समितिलाई पुर्ण जिम्मेवारी दिन माग

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन : तहगत समितिलाई पुर्ण जिम्मेवारी दिन माग

प्राप्त उपलब्धिकाे रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जाेड

बुटवल,१८ मंसिर ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले पार्टीका तहगत समितिलाई पुर्ण अधिकार दिनुपर्नेमा जाेड दिएको छ ।

 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंसिर १६ र १७ गते सम्पन्न सम्मेलनले पार्टीका तहगत समितिलाई पुर्ण अधिकार दिनुपर्ने माग गर्दैन प्राप्त उपलब्धिकाे रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जाेड दिने निर्णय गरेको हो ।

 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिद्वारा साेमबार बुटवलमा आयाेजित पत्रकार सम्मेलनमा प्रदेश सभापति अमरसिंह पुनले

उक्त कुराकाे जानकारी गराएका हुन् ।

 

सम्मेलनले पार्टीको तहगत आधारमा तहगत निकायको निर्धारण, निर्देशन, नियन्त्रण, समन्वय तथा मुल्याङ्कन सम्बन्धित तहले गर्न पाउने व्यवस्था हुनुपर्ने प्रस्ताव पारित गरेको छ ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी लोककल्याणकारी बनाउन परिवर्तनकारी दलहरूबीच थप बहस र आवश्यक परिमार्जित कदमका लागि आह्वान गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

 

संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल सानो, मितव्ययी र प्रभावकारी बनाउनुपर्ने, संघीय सरकार र प्रदेश सरकारमा जाने व्यक्तिको चयन ड्रिम प्रोजेक्टका आधारमा तय गर्ने प्रस्ताव समेत सम्मेलनले पारित गरेको छ

त्यस्तै पार्टी संगठनलाई व्यवस्थित गर्न अनुशासनलाई विधिगत आधारमा चुस्त गराउने, सबै समिति एवम् पदाधिकारीका कार्यप्रगति प्रविधिसम्पन्न शैलीमा उपलब्ध गर्ने÷गराउने,कार्यक्षमताका आधारमा प्रतिनिधित्व एवम् नेतृत्व चयन र मुल्याङ्कन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रदेश प्रतिनिधिहरूमध्येबाट महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य समेत निर्वाचित हुने व्यवस्था गर्ने,वार्ड तहलाई बलियो बनाउन संगठनात्मक आधार वडालाई व्यवहारिक रूपमा कार्यान्वयवन गर्ने र ७ सय ५३ वटै पालिकाका सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्ने, कुनै पनि तहका पद वा प्रतिनिधित्व स्वतः हुने व्यवस्था खारेज गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

यसले अब केन्द्रीय पदाधिकारी एवम् सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि र संघीय सांसद स्वतः क्षेत्रीय प्रतिनिधि हुने, प्रदेश सभा सदस्य स्वत प्रदेश अधिवेशन प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्नेछ ।

त्यस्तै पार्टी लेबी जुन तहले उठाउनुपर्ने हो, सो तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने,एउटै तहको कार्यसमितिमा बढीमा २ पटकसम्म मात्र मनोनित गर्न पाउने, मनोनित सँगै निर्वाचित आरक्षित सीटका लागि पनि यसै बमोजिम परिमार्जन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

हालको बहुपदीय प्रणालीमा नेपाली काँग्रेसका ८ वटा तहमध्ये प्रत्येक बहुपद हुने ठाउँमा एक जना निर्वाचित र अन्य पदाधिकारी मनोनित हुने व्यवस्था गर्ने, कोषाध्यक्ष पद निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

समानुपातिक र लाभको पदलाई सो व्यक्तिको जीवनकालका लागि एकपटक मात्र हुने व्यवस्था गर्ने तर समावेशीताको आधारभुत सिद्धान्तबमोजिम हुने गरी मात्र अवसर दिनुपर्ने,आरक्षित सीटका लागि पनि यसै बमोजिम परिमार्जन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

 

युवा र महिला स्वरोजगारका लागि नेपाली काँग्रेसको समाजवादी नीति परिणाममुखी रूपमा कार्यान्वयन गर्ने,लुम्बिनी प्रदेशको आर्थिक सशक्तिकरण गर्न आधुनिक कृषि, पर्यटन र उद्योगको विकाशलाई जोड दिने,त्यसका लागि अल्पकालीन, मध्यकालीन र दिगो रणनीतिक योजना बनाई कार्यान्वयन गर्ने तथा जनशक्ति तथा पुजी पलायन रोक्ने नीति र कार्यक्रमको नीति निर्माण तथा कार्यान्वयन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

 

सुसशासन, पारदर्शिता र जवाफदेहिताको विकाश गर्ने,भ्रष्टाचार र अनियमितता रोक्नका लागि राजनैतिक इच्छाशक्तिको विकाश तथा सम्बन्धित निकायलाई स्वायत्तता प्रदान गर्नुपर्ने, संविधान प्रदत्त शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गर्ने,बीमाको प्रभावकारी कार्यान्वयन,प्राविधिक, व्यवसायिक एवम् स्वरोजगारमुखी शिक्षालाई प्राथमिकतामा राख्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

 

चुनाव अघिको गठबन्धन अनुचित भएको ठहर सहित चुनाव अघि गठबबन्धन नगर्ने प्रस्ताव पनि सम्मेलनले पारित गरेको हो ।

 

सभापति पुनले विचार नमिल्ने दलहरुसंग चुनाव अघि गरिने गठबन्धन पार्टीका कार्यकर्ता र मतदाताले नरुचाएकाले गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको बताए ।

 

आगामी निर्वाचनमा चुनाव अगाडि अन्य दलसंग गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ ।

 

लुम्बिनीको यो प्रस्तावलाई अन्य प्रदेशले पनि अनुशरण गर्ने सभापति पुनले विश्वास ब्यक्त गरे ।

 

लुम्बिनी प्रदेश सरकार र सो अन्तर्गतका १०९ स्थानीय सरकारलाई अनुगमन गर्न पार्टीको लुम्बिनी प्रदेश कार्यसमिति अन्तर्गत अनुगमन समिति बनाउने प्रस्ताव सम्मेलनले पारित गरेको प्रदेश महामन्त्री विक्रम खनालले बताए ।

प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij