बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम शुरु गरिएको बताए।
समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए।
पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समाबेश गर्ने नगरको लक्ष्य रहेको बताउदै प्रमुख पाण्डेले तालिम पश्चात हरेक टोल टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए ।
प्रमुख पाण्डेले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठुलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए ।
उनले सिपसिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि बिक्रीवितरणको व्यवस्था मिलाईने बताए।
गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए।
स्थानीय समन्वय संस्था हातेमालो परोपकार केन्द्रकी अध्यक्ष लक्ष्मी खनालले महिलाहरुका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताइन्।
वडा नम्बर ६ बाट गुन्द्रुक र मस्यौरा बनाउने तालिम शुरु भएको नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए।
बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टिका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना रहेको छ।
यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउने छन् ।
—————
बुटवलमा श्रमाधान रोजगार मेला हुने
बुटवल । यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेका हुन्।
संघ, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गर्ने मेलामा ४० वटामा स्टलमा औद्योगिक प्रतिष्ठानहरूले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरू र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरू हुनेछन्,’ उनले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा हुनेछन् ।’ श्रमाधान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने प्रमुख पाण्डेयले बताए ।
श्रम कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए ।
मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ । त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरूको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ ।
विकासोन्मुख देशहरूले जस्तै नेपालले पनि रोजगारीको क्षेत्रमा विशेष गरी युवा बेरोजगारीका चुनौतीको सामना गरिरहेको छ ।
नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३.७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन् ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा समाधान रोजगार मेला आयोजना गरेको हो । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्