रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

 

पोखरा,४ कार्तिक ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार साँझ काठमाडौ स्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएकामा छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएपश्चात म्याथ थप भएको हो ।

उनलाई आज दिउँसो १ः३० बजे अदालत पुर्याइएको थियो । अदालत जाने सिधा बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडितले प्रदर्शन गरेपछि उनलाई घुमाउरो बाटो लेकसाइड घुमाएर अदालत पुर्याइएको थियो ।

अदालतको मुख्य ढोकामै पुगेर लामिछानेले उत्तेजक प्रतिक्रिया दिएका थिए । लामिछानेलाई घुमाउरो बाटोबाट अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता पनि उत्तेजित हुँदै निषेधित क्षेत्रमा प्रवेश गरेर प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

त्यसपछि प्रहरीले रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी भिड नियन्त्रणको प्रयास गरेको थियो ।

रास्वपाका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि सहकारी पीडितले पनि निषेधित क्षेत्रमा प्रवेश गरेर नारावाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको गेट अगाडि रास्वपाका कार्यकर्ता र राष्ट्रबैंकचोकमा सहकारी पीडित जम्मा भएर प्रदर्शन गरेका थिए ।

दुवै समूहको प्रदर्शनले रत्नचोक, वाईचोक, शहीदचोक, राष्ट्रबैंकचोक क्षेत्र आज दिनभर तनावग्रस्त बनेको थियो ।

अप्रिय घटना हुन नदिन सयौँ संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । सुरक्षाकर्मीको कमाण्ड कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया आफैले गरेका थिए ।

उनले पटक-पटक प्रदर्शनकारी सम्झाउँदै निषेधित क्षेत्र बाहिर पठाएका थिए । कास्की प्रशासनले आज बिहान सर्वदलीय बैठक डाकेर निषेधित क्षेत्र घोषणा गरेको थियो ।

रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएसँगै अधिकांश केन्द्रीय नेता र कार्यकर्ता पोखरा आएका छन् ।

कार्यकर्ता आउनेक्रम जारी रहेको बताइन्छ । पार्टीले प्रत्येक जिल्लाबाट एक सय जना आउन उर्दी नै जारी गरेको छ ।

पोखरा आउने नेता कार्यकर्ताको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरेको छ रास्वपाले शनिबार पोखराको चिप्लेढुंगामा शक्ति प्रदर्शनसमेत गरेको थियो ।

सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई शुक्रबार तेस्रो पटक २० दिन म्याद थप भएको थियो । उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमै छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij