काठमाडौँ, सगरमाथा संवादमा भारत र चीनका छिमेकी मुलुकहरू मन्त्रीस्तरीय प्रतिनिधित्वसहित सहभागी हुने भएका छन्। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा चीनबाट नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जिए सहभागी हुने जानकारी दिइन्। संवादमा भारतको तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव सहभागी हुनेछन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप२९० को अध्यक्षता गरेका अजरबैजानका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ पनि सगरमाथा संवादमा सहभागी हुनेछन्।
बंगलादेशका सामाजिक कल्याणमन्त्रीका सल्लाहकार सार्मिन मुरसिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री गेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानकी उपविदेशमन्त्री आकिको इकेनो, संयुक्त अरब इमिरेट्सका ऊर्जा तथा दिगो मामिलाका सहायक मन्त्री अब्दुल्ला बलालालगायतको पनि संवादमा सहभागिता रहनेछ।
बेलायतको वातावरण, खाद्यान्न तथा ग्रामीण मामिलासम्बन्धी मन्त्रालयकी उपसचिव सुजन मेरी हाउजको सहभागिता रहेन परराष्ट्र मन्त्रालयले जनाएको छ। कतार, किर्गिस्तान, ओमान, ब्राजिल, इजिप्ट, सार्क, बिमस्टेक र संयुक्त राष्ट्रसंघलगायतका दस देश तथा क्षेत्रीय संगठनहरू राजदूतस्तरमा सहभागी हुनेछन्।
विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैंककी उपाध्यक्ष फातिमा यास्मिन पनि सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल नाराका साथ सगरमाथा संवाद शुक्रबार काठमाडौँमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो संवाद बहु हितधारकहरूको अन्तरक्रियात्मक मञ्च हो। सम्मेलनले विश्व, क्षेत्रीय तथा राष्ट्रिय रूपमा महत्त्वपूर्ण विषयहरूमा विचार विमर्श गर्ने उद्देश्य राखेको छ। यसले समाजका विविध क्षेत्रका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने र सकारात्मक परिवर्तनका लागि आवश्यक संवाद अगाडि बढाउने लक्ष्य लिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्