नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनस्थित नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार मेड्रिडमा आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुहुँदै । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री बुधबार स्पेनको सेबियाबाट बुधबार साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

स्पेनमा रहेकाे नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवम् सांस्कृतिक इतिहास भएको देशमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गर्नुभयो ।

‘निजी क्षेत्र आर्थिक वृद्धिको इन्जिन हो । अहिलेको सरकार लगानी वृद्धि र नवप्रवर्तनका लागि स्पष्ट छ । लगानी बोर्ड नेपालको अध्यक्षका हैसियतले म आग्रह गर्छु कि सरकारले लगानीकर्ताको सुरक्षा र सहजीकरणका लागि गर्नुपर्ने सबै काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । त्यसैले म यस्ता क्षेत्रहरूमा लगानीकर्तालाई हार्दिक स्वागत गर्दछु । लगानीको सम्भाव्यताको अध्ययनका लागि यहाँका व्यवसायीलाई नेपाल आउन आग्रह गर्दछु । म तपाईंहरूलाई लगानीकर्ता मात्रै होइन विकासको साझेदार पनि मान्छु ।’

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानूनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराउनुभयो ।

स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरूले आफूहरू दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, स्पेनका लागि नेपाली राजदूत शनील नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

स्पेनको सेभिल्ला (सेभिया) मा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली मड्रिड फर्कनुभएको हो

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij