बुटवलमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो, रास्वपाका ९० युवाले गरे पार्टी प्रवेश

बुटवलमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो, रास्वपाका ९० युवाले गरे पार्टी प्रवेश

 

बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले बुटवलको बजार क्षेत्रका मतदातासँग मत मागेका छन् । बजार केन्द्रीत घरदैलोमा उत्साहपूर्वक स्थानीयको सहभागिता रहेको थियो ।

निर्वाचन परिचालन समितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजार केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णयअनुसार शनिबार दिनभर उम्मेदार पौडेलसहितका नेताकार्यकर्ता बजार क्षेत्रमा मत मागेका हुन् । पूर्वनिर्धारित युवा, महिला, व्यवसायीसहितको कोणसभा कार्यक्रमको स्वरूप परिवर्तन गर्दै क्षेत्रभर केन्द्रित र प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको थियो । दिउँसो १ बजेदेखि विशेष जनप्रदर्शनसहित बृहत् र्याली तथा वीपीचोकमा कोणसभा आयोजना गरिएको थियो ।

यी क्षेत्रमा पर्ने वडाका युवा, महिला, उद्योगी–व्यवसायी, पेशाकर्मी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको ठूलो सहभागिता भनाइएको संयोजक भोजप्रसाद श्रेष्ठले जानकारी दिए । बिहान वडाकेन्द्रीत कार्यक्रमहरु सकेर दिउँसो २ बजेदेखि बुटवलका वडा नं ३, ४, ५ र ६ मा बजार केन्द्रित घरदैलो तथा र्यली सञ्चालन गरिएको र यसमा युवा, महिला तथा पार्टीका शुभेच्छुकहरुको उत्साहजनक सहभागिता देखिएको सहसंयोजक राजु गुरुङले बताए । ती वडाका नेता-कार्यकर्ता अस्पताललाइनमा जम्मा भएर संयुक्त रूपमा घरदैलो अभियानमा लागेका थिए ।

कार्यक्रममा उद्योगी–व्यवसायी, ट्रेड युनियन तथा विभिन्न पेशागत समूहको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम पुष्पलाल पार्कबाट सुरु भई अमर पथ, हाटबजार, चिडिया खोला, गोलपार्क, लक्ष्मीनगर गेट, जेसिस चोक, राममन्दिर लाइन, संगम पथ हुँदै वीपीचोकमा पुगेर कोणसभासहित समापन गरिएको थियो । निर्वाचन प्रचार–प्रसारलाई थप सशक्त बनाउँदै जनताको घरदैलोमा पुग्ने रणनीतिसहित कार्यक्रम अघि सारिएको समितिले जनाएको छ । पार्टीले निर्वाचन क्षेत्रभर संगठनात्मक सुदृढीकरण, मतदाता भेटघाट तथा जनमत निर्माणलाई तीव्र बनाएको छ ।

 

र्यालीपछि आयोजित कोणसभामा एमाले उपाध्यक्ष पौडेलले बुटवललाई विकासको नमुना बनाउने अभियानलाई स्थानीयको साथ चाहिएको बताए । उनले पुराना कामको निरन्तरतासँगै नयाँ योजनाको सुरुवात आफ्नो प्रतिवद्धता रहेको दोहोराए ।

रास्वपा त्याग्दै ९० जना एमाले प्रवेश

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा दल परिवर्तनको क्रम तीव्र बनेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अनिल थापाको नेतृत्वमा ९० जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

घरदैलो अभियानका क्रममा बुटवलको जेसीज चोकमा आयोजित कार्यक्रमबीच नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

सो अवसरमा पौडेलले एमाले देश निर्माणको स्पष्ट दृष्टिकोण, स्थिरता र विकासको भरोसासहित अघि बढिरहेको पार्टी भएको उल्लेख गर्दै जनताको विश्वास दिनानुदिन बढ्दै गएको दाबी गरे । “देशलाई समृद्धिको बाटोमा लैजान बलियो नेतृत्व र स्पष्ट नीति आवश्यक हुन्छ,” उनले भने, “एमालेले मात्रै स्थिर सरकार र दीर्घकालीन विकास सुनिश्चित गर्न सक्छ । त्यसैले विभिन्न दलबाट साथीहरू एमालेमा आवद्ध हुनु सकारात्मक संकेत हो ।”

उनले रुपन्देही–२ मा सडक, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा सुरु गरिएका योजनालाई निरन्तरता दिन मतदातासँग सहयोग माग्दै फागुन २१ मा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । रास्वपा परित्याग गरी एमाले प्रवेश गरेका अनिल थापाले देशको राजनीतिक अवस्था र विकासका मुद्दालाई ध्यानमा राख्दै आफूहरू एमालेमा आवद्ध भएको बताए । “हामीले परिवर्तनको अपेक्षासहित रास्वपामा काम गरेका थियौं,” उनले भने, “तर व्यवहारिक रूपमा विकास र स्थिरताका लागि एमाले नै सक्षम देखिएकाले सामूहिक रूपमा निर्णय गरेका हौं ।”

थापाले आफ्नो नेतृत्वमा ९० जना युवा तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित गर्न सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीमा दल परिवर्तन र चुनावी सक्रियता बढ्दै गएको छ । राजनीतिक दलहरू घरदैलो अभियान, कोणसभा र भेटघाट कार्यक्रममार्फत मतदाता आकर्षित गर्न व्यस्त देखिन्छन् ।

संविधान सभा सदस्य विनोद पहाडी एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल बिश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन् ।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढणालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए । पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij