काठमाण्डौ – बडादशैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ ।
देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावटयुक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।
चाडपर्वका समयमा यात्रुको सहज आवागमनका लागि ४ सय ८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकामा १ सय ८ सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
काठमाण्डौमा उपत्यका, प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने भएकाले गाडी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक यातायातमा विशेष निगरानी गर्ने भएको छ ।
प्रहरीका अनुसार सार्वजनिक गाडीले यात्रु बोकेर लामो दूरीमा सञ्चालन हुनुअघि सात दिनभित्र गरिएको यान्त्रिक परीक्षण रिपोर्र्ट पेस गर्नुपर्नेछ । प्रहरीले नेपालमा पहिलोपटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागेको जनाएको छ ।
यस्तै, चालकको लाइसेन्स जाँच, लामो दूरीका गाडीमा दुई जना चालकको व्यवस्था र क्षमताभन्दा बढी यात्रु नराख्ने नियमलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
चाडपर्वका क्रममा हुन सक्ने बाढी, पहिरो, दुर्घटना तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्