प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सरकारसँग कोरोनाले पुर्याएको क्षतिको ‘ज्ञान’ नै नभएको बताएका छन् । उनले सरकारले कोभिड–१९ ले पुर्याएको क्षति र भविष्यमा पार्न सक्ने असरको आँकलन गर्न नसकेको बताएका छन् ।
सम्माननीय सभामुख महोदय,
हामी सबै जान्दछौं, यो असाधारण समय हो । यस्तो बेला नेपाल सरकारको आव २०७७र०७८ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न सम्मानित सदनमा उभिँदा म नेपाल र नेपालीको आजको स्थिति र केही परिदृश्यलाई स्मरण गरिरहेको छु ।
एकातर्फ म कोरोना संक्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाइकर्मीलाई स्मरण गरिरहेको छु भने अर्कोतर्फ कोरोनावाट संक्रमित दिदीबहिनी, दाजुभाइ, तीनका परिवार, महामारीका कारण दुःखमा परेका किसान, स्वदेश तथा विदेशमा रोजगारी गुमाइरहेका श्रमिक, विदेशवाट घर फर्कन चाहेका तर नपाएका अप्ठ्यारोमा परेका नागरिक, बसेको ठाउँमा राहत नपाएर सयौं किलोमिटर हिँडेर घर जान बाध्य हजारौं मजदुर, विद्यार्थी र बेरोजगार, उपचार पाउन कठिनाइमा परेका अन्य रोगका बिरामी, उद्योग व्यापार बन्द भएका सानाठूला उद्यमी व्यापारी, बिहान साँझको छाक टार्न नसक्ने अवस्थामा पुगेका मजदुर, समस्यामा परेका गरिब, अपागंता भएका व्यक्ति र एकल महिलाहरुलाई सम्झिरहेको छु ।
म परीक्षण सामग्रीको अभावमा कोरोना परीक्षणको प्रतीक्षामा बसेका नागरिकहरु र भाइरसको महामारीले आफू र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला, यस्ले मुलुकलाई के गर्ला भनेर सन्ताप र त्रासमा बसेका नेपाली दिदीबहिनी, दाजुभाइको मनोदशा स्मरण गरिरहेको छु। अनि हिजो मात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिला, उनको काखको शिशु र उनको परिवारको मनोदशा सम्झिरहेको छु ।
सरकारले यी सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनुपर्ने समय हो । हाम्रो अपेक्षा थियो, सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गररी समस्याको उचित समाधान गर्नेछ। तर, सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ।
पहिलो सन्देश यो सरकारलाई कोभिड–१९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नै छैन। दोस्रो, सरकारलाई जनताको दुखःप्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन। तेस्राे, सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ।
यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको छ।
नेपालमा पहिलो संक्रमित व्यक्ति ०७६ माघ १० मा भेटिएको ४ महिना पुग्न लाग्यो । लकडाउन भएको पनि आज ५५ दिन पूरा भयो। हिजोसम्म पीसीआर विधिवाट केवल २६ हजार ६ सय ९१ जनाको मात्र परीक्षण भएको स्वयं सरकारी तथ्यांकले देखाउँछ।
यतिका दिनपछि पनि स्वास्थकर्मीको सुरक्षा उपकरण लगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनिय परीक्षण कीटको अभाव हुनु, अस्पतालमा भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, कोरोना प्रभाववाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमानाबाहिर बिचल्लीमा रहेका र देशभित्र नै पनि घरबाहिर असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित र इज्जतपूर्वक घरमा पुर्याउने कुनै योजना नहुनुले जनताले सरकार भएको अनुभूति गरेका छैनन्।
म प्रश्न गर्न चाहन्छु, सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्यो ? परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको दृष्टान्त हो, तयारी विहीनता। विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन्र । भारतीय सीमा नाकामा हजारौं नागरिक बिचल्लीमा परेका छन् । तीनले सरकारबाट सुरक्षित रुपमा घर फर्किने वातावरण र सहजीकरणको अपेक्षा गरेका छन् । तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ।
स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पिसिआर परिक्षणको दायरा व्यापक रुपले समुदाय स्तरमा पुर्याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको व्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा व्यवस्थित रुपले राखेर परीक्षणपश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन सरकार समक्ष माग गर्दछु ।
नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा रमाएको छ। विगत दुई वर्षमा निकै काम गरेको दाबा गरिएको छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एकपटक पढ्न अनुरोध गर्दछु । जसले नयाँ नीति कार्यक्रमका असत्य दाबालाई उजागर गर्नेछ।
सरकार दुई पहिलेको नीति कार्यक्रम हेरेर आफैं लज्जित बन्नुपर्ने स्थिति छ । त्यो बेला एक वर्षभित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीनवटा मुख्य राजमार्गको छेउमा बनाउँछु भनेको ७६५ केभी ट्रान्समिसन लाइन, निजगढ एयरपोर्ट निर्माण प्रतीक्षामा छन् । पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने जस्ता केही सपना पूरा नभई बिना कुनै स्पष्टीकरण तुहिएका छन्र । यी त केही उदाहरण मात्र हुन्।
दुई वर्षपहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका नै कतिपय योजना र कार्यक्रम अहिले पनि पुनरावृत्ति गरिएका छन् । यसले नीति कार्यक्रमको कार्यान्वयन कति फितलो छ भन्ने देखाएको छ । विकासको गति गज्जबले अगाडि बढेको दाबी गर्ने सरकारलाई न्यून पुँजीगत खर्चको अवस्थाले जिस्कारहेको छ । राजनीतिक प्रचार र सुविधाका लागि जे पनि गर्छु भन्ने सस्तो प्रवृत्ति मौलाएको छ । यसले नीति तथा कार्यक्रमको विश्वसनीयता र उच्च गरिमा हराएको छ।
सरकार वर्तमान समस्यालाई ठीकसँग हेर्न सकिरहेको छैन वा अप्ठेराहरुको गाम्भीर्य बुझिरहेको छैन । विगत दुई वर्षका कार्यक्रम अहिले पनि दोहोरिएका छन् । पहिले पनि गुरुयोजना बनाएर कार्यक्रम ल्याइएको थिएन । अहिले फेरि त्यसरी नै दोहोरिएका छन् । यसले खर्चको लक्ष्य धेरै राख्ने संकेत मिलेको छ।
राजश्वको यो वर्षको लक्ष्य समेत नभेटिएको परिप्रेक्षमा पुराना योजना पनि दोहोर्याउने र महामारीसंग लड्न नयाँ खर्चपनि छुट्याउने हो भने यो सबैका लागि स्रोत कहाँबाट आउँछ रु यसले नीजि क्षेत्रलाई दोहन गर्ने, उनीहरुलाई बैंकवाट उपलब्ध हुने पूँजी सरकारले आन्तरिक ऋण उठाउने र जथाभावी बैदेशिक ऋण लिने गलत नीति तर्फ जान्छ।
नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहिलाई तिब्रता दिएको भनिएको छ। बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्ष पुग्दैछ यो आपराधिक घटनाका प्रति सरकारको उदासिनता र गैर जिम्मेवार व्यवहारले सुशासन, शान्ति सुरक्षाको विषयमा सरकारी दावालाई चुनौति दिएको छ।
यो त एक प्रतिनिधिमूलक घटना मात्र हो, यस्ता अपराधका अनेक घटनालाई नियन्त्रण गर्न सरकार असफल भएको छ। भ्रष्टाचारका एक पछि अर्का काण्ड भएका छन् । पछिल्लो समयमा सार्वजनिक भएको यति काण्ड हुँदै सेक्युरिटी प्रेस खरिदसम्बन्धी काण्डमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग हसाउने विषय होइन र ?
कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधि समेतमा भ्रष्टाचार भएको भनी प्रश्न उठ्नु, त्यसमा छानवबन हुनुको साटो प्रधानमन्त्री आफैं भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि हुन्छ । उल्टै समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जाललाई अस्थिरता फैलाएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो । उहाँको तहबाट यो अभिव्यक्ति आउनु एकातर्फ दुखद थियो अर्कातर्फ प्रेसको स्वतन्त्र भूमिकालाई कुण्ठित गर्ने नियत थियो ।
कोरोनाले मुलुकका सबै क्षेत्रलाई अत्यन्त नकारात्मक रुपले प्रभावित गरेको छ। यसका अल्पकालीन र दीर्घकालीन प्रभाव रहनेछ । सरकारका नीति तथा कार्यक्रम समस्या समाधान तर्फ उन्मुख छैनन् । देशभित्र उद्योगधन्दा, निर्माण क्षेत्रमा पर्ने प्रभाव र विदेशवाट रोजगारीवाट देश फर्किनेको ठूलो संख्याले बेराजगारीको समस्या भयावह रुपले बढ्ने देखिन्छ । यसलाई सम्बोधन गर्न सरकारसँग इच्छा शक्ति, क्षमता, इमानदारी र दूरदृष्टिको नितान्त अभाव छ।
सरकारको दाबाविपरीत संघीयताको कार्यान्वयनमा सरकारको उदासीनताको साक्षी छ प्रदेश सरकारहरु संविधान प्रदत्त अधिकारको उपयोग गर्न वञ्चित भएका छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने संयन्त्रहरु अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् जस्ता निष्क्रिय जस्ता छन् । प्रदेशका राजनीतिक नेतृत्वले संघीय सरकारसँग व्यवस्थित समन्वय नभएको गुनासो गरी रहन्छन् ।
हस्तकला, कृषिमा आधारित साना उद्योगहरु नकारात्मक रुपमा प्रभावित भएका छन् । आत्मनिर्भरता र धेरै ठूलो रोजगारीको माध्यम बनेका कुखुरापालन, मत्स्य पालन, मह, केरा, तरकारी, फलफूल उत्पादन तथा प्रशोधन गर्ने उद्योगमा परेको असर र तीनलाई दिन पर्ने राहतको उल्लेख छैन । ती उद्योगमा आधारित व्यक्तिले रोजगारी गुमाउने, आर्थिक मन्दीका कारण उद्योग धरासायी भई देशभित्र आर्थिक असमानता थप बढ्ने स्थिति छ ।
सरकार अहिले पनि उद्योग, रेमिटेन्स आदि क्षेत्रमा कोरोनाबाट भएको प्रारम्भिक क्षति अनुमान गर्न सकेको छैन। यसले राहत पाउनु पर्ने उद्योगलाई प्रोत्साहित गर्ने विषय नीति कार्यक्रममा समेटिएको छैन। सरकारसँग निर्यात बढाउने विश्वसनीय र नयाँ योजना छैनन् । सरकारले सञ्चालन गरेका रोजगार योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रशन उठेका छन् । विगतमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार योजनाले देशको सम्पत्तिको दुरुपयोग भएको भनी आमजनता र सञ्चार माध्यममा व्यापक विरोध भएको थियो। दिगो पूर्वाधार निर्माणका लागि लिनुपर्ने वैदेशिक ऋणलाई कार्यकर्ता पोस्ने काममा खर्च गर्ने कुरा स्वीकार्य हुन सक्दैन।
अहिले कोरोनाबाट व्यापक रुपमा प्रभावित भएको पर्यटन क्षेत्र पनि हो। प्रर्यटन प्रवर्द्धनसम्बन्धी कुनै नीति आएको छैन। केही एयरपोर्टको निर्माण र मर्मत मात्र दिगो र गुणस्तरीय पर्यटनको स्रोत होइन। सबैभन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा पुराना सामान्य किसिमका विषयको पुनरावृत्तिबाहेक कुनै नवीन सोच र योजना छैन।
राष्ट्रिय गौरवमा परेका योजनाको अवधि र लागत दुवै बढेको छ । सरकारले उच्च प्रविधि प्रयोग गरेर सडक बनाउन सकेको छैन । सही योजनाको छनौट, विकास कार्यको गुणस्तर र निर्माणको क्षमता वृद्धिमा ध्यान गएको छैन। उर्जा क्षेत्रको कार्यक्रमले निजी क्षेत्रलाई बेवास्ता गरेको छ। कयौं योजना महामारीले पीडित छन् । तीनलाई राहतको वा अन्य कुनै व्यवस्था गरिएको छैन।
यस्तो अप्ठ्यारो बेलामा पनि सरकार मितव्ययीताको पक्षमा देखिएन। यो सरकार आफैले गठन गरेको आयोगको मितव्ययीताको सिफारिससमेत लागू गर्न तयार छैन। वैदेशिक ऋण निरन्तर बढेको छ। सरकार मितव्ययी हुन र वैदेशिक ऋणको नीति पारदर्शी हुन आवश्यक छ।
नेपाली भूमि अतिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानी बारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक छ तर यो अपूर्ण पनि छ। मित्ररास्ट्र भारत र चीन दुवै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतवाट सडक निर्माण गर्ने काम गरिएको छ।
दुई छिमेकि मुलुक बिच भएको सहमतिको नेपाली काँग्रेसले तत्कालनै विरोध जनाएको र सुशील कोइराला प्रधानमन्त्री रहनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले तत्काल प्रोटेस्ट नोट पठाएको म स्मरण गरिरहेको छु। नेपाली भूभागमा भएको अतिक्रमण र सडक निमार्ण बारे छिमेकी मुलुक मित्रराष्ट चीनसंग समेत उच्च स्तरमा सार्थक र परिणामीमुखी वार्ता गरि समस्याको समाधान गर्नु पर्दछ।
अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको छ िनीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन ियहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु िपुर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु
िअन्तमा यो वर्षको नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको वाटोमा लैजाने सिर्जनशिलता देखाउन सकेको छैन। आवश्यक नीति र कार्यक्रमको अभाव छ। पुराना कार्यक्रम दोहोर्याईएका छन । राजश्वमा आउने कमीले हुने प्रभाव बारे केहि बोलेको छैन। अहिलेको महामारीले पार्ने बहुआयामीक प्रभाव बारे नीति कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दिर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन। म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु ।
धन्यवाद, जय नेपाल ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्