काठमाडौं । रुकम पश्चिमको चौरजहारी घटनामा प्रहरीको भूमिका शंकास्पद भएको एक स्वतन्त्र अध्ययन समूहको निष्कर्ष निकालेको छ ।
अधिकारकर्मी, कानुन व्यवसायी, लेखक र पत्रकार संलग्न रहेको एक स्वतन्त्र अध्ययन समूहले स्थलगत अध्ययन गरी तयार पारेको रिपोर्टले ६ जनाको ज्यान जाने गरी भएको उक्त घटनामा प्रहरीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकालेको हो । साथै, उक्त घटनामा चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लको प्रत्यक्ष संलग्नता रहेको समेत अध्ययनको ठहर छ ।
इलाका प्रहरी कार्यालय, चौरजहारी र चौरजहारी–८, सोती गाउँका वडाअध्यक्ष डम्बरबहादुर मल्ल नवराज विक र सुष्मा मल्लको प्रेम सम्बन्धबारे पूर्वजानकार थिए । नवराज विकका साथीहरूको समूहमाथि आक्रमण गरिसकेपछि प्रहरीलाई खबर गर्ने स्रोत व्यक्ति पनि वडाअध्यक्ष मल्ल नै थिए,’ प्रतिवेदनमा उल्लेख छ, ‘नवराज विकलाई वैशाख १७ मा पक्राउ गराउने काममा पनि वडाअध्यक्ष मल्लको अग्रसरता देखिन्छ । घटना भइसकेपछि घाइते व्यक्तिहरूको खोजी गर्नमा न प्रहरीले तदारुकता देखाएको छ, न वडाअध्यक्षले नवराज विकलगायत उनका साथीहरूको अवस्थाबारे प्रहरीसँग सोधखोज गरेका छन् । प्रहरीले घटनास्थलबाट आक्रमणकारी कसैलाई पनि पक्राउ गरेको छैन ।’
लेखक जेबी विश्वकर्मा, युग पाठक, सङ्गीत, अधिवक्ता मोहन साशंकर, अधिकारकर्मीहरु राम नेपाली, विजय विश्वकर्मा र पत्रकार शुष्मा बराली रहेको अध्ययन समूहका अनुसार नवराज विकको शव भेटिइसकेपछि पनि चौरजहारी प्रहरीको तदारुकता नपाइनुले चौरजहारी प्रहरीको भूमिका समेत शंकास्पद रहेको बताएको छ । यस्तै, घटना भएको भोलिपल्ट जेठ ११ गते बिहान रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी ठगबहादुर केसी, चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा र घटनामा संलग्न वडाअध्यक्ष मल्ल घटनाबारे छलफलमा बसेकाले वडाअध्यक्ष मल्ल घटनाको पृष्ठभूमिदेखि मुख्य घटनासम्म प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनको निष्कर्ष छ ।
अध्ययनले प्रतिवेदनले घटनाको मुल कारक जातीय विभेद भएको बताएको छ । चौरजहारी नगरपालिका २०७५ सालमै छुवाछुतमुक्त घोषणा गरिए पनि दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै रहेको उल्लेख गरेको छ । गैरदलित समुदायले आफूलाई ‘ठूलाठालु’ रहेको दम्भ राख्नेर दलित समुदायलाई हेलाहोचो गर्ने परिपाटी रुकुम चौरजहारीमा रहेको बताएको छ । यी कारण केही पक्षका परिवार र उनका छिमेकीले दलित समुदायका नवराज विकसँगको प्रेम विवाहमा परिणत हुन नदिन पटकपटक जबर्जस्ती कोसिस गरेको अध्ययनमा प्रतिवदेनमा उल्लेख छ ।
उक्त हत्याकाण्ड पूर्व तयारीका साथ भएको उक्त समूहले तयार परेको प्रतिवेदनमा उल्लेख छ । ‘नवराज विक र सुष्मा मल्लबीचको प्रेम सम्बन्ध दुवैतिरका परिवार र छरछिमेकमा स्थापित भइसकेको र दुवै परिवार पूर्णतः जानकार रहेको तथ्यका रूपमारहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ,‘वैशाख १७ गते पनि नवराज विकलाई वडाअध्यक्षकै भनसुनमा पक्रेर इलाका प्रहरी कार्यालय, चौरजहारीमा राखिएको, वैशाख १८ गते जाजरकोट प्रहरीले नवराज विकलाई त्यही विषयमा खलंगामै सोधपुछ गरेको र खलंगानिवासी सुष्मा मल्लका नातेदार इन्द्रबहादुर मल्लले पनि पटकपटक नवराजका बुवालाई फोन गरेर नवराजबारे चासो राखेको लगायत तथ्यहरूले सोती घटना आकस्मिक वा भवितव्य होइन ।’
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्