JanataToday.com

Advertisment

SKIP THIS

प्रदेश सभाका अल्छी सांसद

प्रदेश सभाका अल्छी सांसद

बुटवल । सांसद जनताका प्रतिनिधि हुन् । आशा, भरोसा र अपेक्षा सहित चुनाएर जनताले पठाएका छन् । सांसदहरूले जनताका लागि काम गर्छन् भन्ने विश्वास छ । तर प्रदेश नम्बर ५ मा चुनिएका अधिकांश संसदहरू यतिसम्म अल्छी छन कि कानुन निर्माणको बखत मस्यौदा समेत अध्ययन गर्दैनन् ।

यस्तै लाजमर्दाे अवस्था शुरुबाारको मिनी संसद बैठकमा देखियो । पाँच नम्बर प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिको विषयमा छलफल थियो । समितिमा १३ जना सदस्य छन् । समितिको बैठको विषयमा तीन दिन अगावै सदस्यले खबर पाइसकेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसमेत सहभागि बैठकमा समितिका सभापति दधिराम न्यौपानेले बैठक शुरु गर्दै सदस्यलाई धारण राख्न आग्रह गरे ।

तर बैठकमा सहभागी अधिकांश सदस्यले न त कार्यविधि पढेका थिए, न त बैठकको एजेण्डाको विषयमा बुझेकै थिए ।समितिका सांसद रामजीप्रसाद घिमिरेले कार्यविधि हेर्न नभ्याएको भन्दै हल्ला सुनेका कुरा बैठकमा राखे । ‘कार्यविधि हेर्ने भ्याएको छैन, तैपनि यो घाटगद्धी गरेर बिक्री गर्दा लागत बढ्छ भन्ने कुरा सुनिएको छ, यसलाई सच्याउनुपर्छ, उनले भने ।

संसदीय समिति मिनी संसद हो । प्रदेश ५ को समिति बैठकमा मात्रै होइन, प्रदेश सभाको बैठकमा समेत सांसदहरू हचुवाका भरमा भाषण गर्छन् । संसदको कार्यविधि तथा संसदबाटै पारित भएका नीति नियमको बारेमा समेत उनीहरू बेखबर छन् ।

सांसद डा. कृष्ण न्यौपानेले समितिको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यबिधि तत्काल लागू गर्नुपर्ने तर्क गरे । गत असोजमा जारी भएको सो कार्यविधि तत्कालै लागू भएको पत्तो समेत उनले पाएनन् । ‘कार्यबिधि लागू नहुदा चोरी निकासी बढ्यो, सरकारले छिटो लागू गर्नुप¥यो, उनले मन्त्रीलाई इंगित गर्दे भने ।

शुक्रबारको समितिको बैठकमा सात जना सदस्य सहभागी थिए । तीमध्ये सभापति दधिराम न्यौपाने, सदस्य थानकुमारी थापा र सुनिता ठठेरले मात्रै विषयवस्तु बुझेर सरकारलाई निर्देशनात्मक धारणा राखे ।

बाकेका सांसद अमरबहादुर डागीले बैठक सुरुहुनुभन्दा केही मिनेट अगाडिमात्रै कार्यविधि खोज्दै थिए । तैपनि उनले नदीजन्य पदार्थ चोरी भइराखेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अर्की सदस्य पुर्मती ढेगाले विषयस्तु नै नबुझी महिलालाई आत्मनिर्भर बन्न सरकारले बजेट छुट्याउनुपर्ने बताइन् । उनको धारणालगत्तै समिति सभापति न्यौपानेले विषयवस्तु बाहिर गएर नबोल्न रुलिङ नै गरे ।

ढिलो गरी बैठकमा पुगेका अर्का सदस्य तुलबहादुर घर्तीलाई बैठकको विषयवस्तु नै पत्तो थिएन । ‘यही विषयमा होइन र बैठक ? कार्यविधिको पुस्तक देखाउँदै उनले भने । समितिको यसअघिको बैठकले कार्यबिधिको विषयमा छलफल गर्दै मन्त्रीसंग जवाफ माग्ने निर्णय गरेको थियो । तर सांसदहरू आफ्नै समितिको बैठकको निर्णयप्रति बेखबर थिए ।

प्रदेशसभामा विधेयकमाथि छलफल हुदा सांसदहरू गाउँमा सडक पुगेन भन्दै तर्क गर्दै आएका छन् । सांसद कक्षभित्रै मोवाइल चलाउने, बाहिर निस्किने जस्ता गतिबिधि संसदमा हुदै आएका छन् । संसदमा यस्ता गतिबिधि हुनुलाई उपयुक्त मानिदैन । मन्त्रीहरू समेत बैठक छाडेर उद्घाटनमा व्यस्त हुने गरेका छन् ।

समितिका सभापति न्यौपानेले पढ्ने बानी नहुनु र समानुपातिकबाट छानिएका सांसदको योग्यता नै कमजोर भएकाले समस्या आइरहेको बताए । ‘हामीले बैठकमै र बैठक बाहिर त्यस्ता सदस्यहलाई सिकाउने गरेका छौं, विस्तारै सुधार होला,–उनले भने ।

यस्तो अल्छिपना अन्य समितिको बैठमा समेत देखिन्छ । विधेयकमाथि छलफलका क्रममा सांसदहरू अन्य विषयमै तर्क गर्छन । संसदमा के भइराखेको छ ? त्यस विषयमा के के कुरा कानुनमा समेटिन्ुपर्छ ? जनताका माग के छन् भन्ने कुराको हेक्कासमेत सांसदले राख्दैनन् ।

सभामुखले हल्ला नगर्नुस्, बाहिर नजानुस, मोवाइल नचलाउनुस् जस्ता रुलिङ गरिरहनुपर्ने बाध्यता छ । माननीयज्यू कहिलेसम्म यस्तै हालत हुन्छ ? जनताको प्रश्न छ ।

प्रकाशित मिति : आइतबार, पुष ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij