काठमाण्डाै – देशभरका विभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ ।
बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् । यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरले बताएका छन् ।
डोटीमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलका डाक्टर ललितकुमार लिम्बुले बताउनुभयो । यस्तै काठमाण्डौमा पनि भाइरल ज्वरोका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा देखिने गरेको डाक्टरले बताएका छन् । बालबालिकालाई ज्वरो आउने, ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।
डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र खान र बासी सडेगलेका खानेकुरा नखान डाक्टरको सुझाव छ ।
प्रकाशित मिति : शनिबार, साउन १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्