बुटवल । संवैधानिक अंगका अध्यक्ष सिफारिश गर्दा संवैधानिक परिषद्ले असंवैधानिक ढंगले गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
संवैधानिक परिषद् बैठकमा प्रतिपक्षी दलको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था भएपनि त्यसको उल्लंघन गर्दै अध्यक्षहरु सिफारिश गरेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका हुन् ।
बुटवलमा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषद्को बैठकले प्रतिपक्षी दलको प्रतिनिधित्व बिना नै संवैधानिक आयोगहरुमा नियुक्ति गरेकोमा आपत्ति जनाए ।
‘सरकारको यो लोकतान्त्रिक चरित्र हुँदै होइन, उनले भने–यसमा कांग्रेसले सडकबाटै आन्दोलन गर्नुपर्ने विषय हो, यसले त अधिनायकवाद निम्त्याउँछ ।’

प्रतिपक्षी दलको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था भएपनि संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिश गरेको थियो ।
‘यो सरकारको मनोमानी हो, लोकतान्त्रिक संस्कारमाथि प्रहार हो, सवैधानिक अंगहरु सरकारका भर्तीकेन्द्रहरु हैनन्, उनले भने–सरकारले लोकतन्त्रका आदर्श, मूल्यमान्यतामाथि प्रहार गरेको छ ।’
कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनले कांग्रेसको हालको कार्यसमितिको म्याद थप नगरी समयमै महाधिवेशन गर्नुपर्ने उल्लेख गरे ।
‘म यो कार्यसमितिको म्याद थप गर्नुहुँदैन भन्ने पक्षमा छु, उनले भने–चुनाबमा पराजय बेहोरेको पार्टीको नेतृत्वले उतिबेलै राजीनामा दिएर आउनुपथ्र्यो, तर पार्टी यत्तिकै छाड्ने कुरा भएन भनेर धेरै बोलिएन, अब त पार्टी र देशका लागि पनि महाधिवेशन गर्नुपर्छ ।’
उनले देश र पार्टीलाई माया गर्नेहरुले गुट नभनेर जनताका लागि राजनीति गर्न आग्रह गरे । ‘अब के को पौडेल, के देउवा गुट, अब कांग्रेस गुट भएर देशका लागि लाग्नुस्, कांग्रेसको निष्ठामा रहनुस्,उनले भने–नेताको पछि लागेर पार्टी र देशको भलो हुँदैन ।’
कार्यक्रममा नेताहरु डा. केदारनरसिंह केसी, चन्द्र भण्डारी, प्रदीप पौडेल, अब्दुल रज्जाक, देवराज चालिसे, विरबहादुर राना, अष्ठभूजा पाठक, रमा अर्याल, खेलराज पाण्डेलगायतले बोल्दै पार्टीलाई लोकतान्त्रिक संस्कार र संगठन केन्द्रित बनाउदै लग्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : मंगलबार, माघ ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्