काठमाण्डाै – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन ‘नेपाल च्याप्टर’ ले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्ताे गुनासाे गर्नुभएको हो । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उहाँले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताउनुभयो । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ थियो ।
उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर म उपसभामुख भएको अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधाहरू रहेछ । यहाँ जसकाे ठूलो पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म सांसदमात्रै हुँदा सामान्य ठाउँमा जान्थेँ, भीआईपीको सुविधा प्रयोग गर्दिनँ भन्थे । पहिला पुरुष उपसभामुख हुँदा चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ तर दिइएको छैन ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्