काठमाडौँ – केही दिनदेखि सत्तापक्ष र प्रतिपक्षबीच संसदमा देखिएको तनाव शुक्रबार पनि देख्न पाइने लगभग पक्का छ । मध्यान्नसम्म कुनै ठोस पहल र राजनीतिक सहमति नभए दिउँसो बस्ने बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच मुठभेड हुने पक्का छ ।
दुवै पक्षका नेताहरुले एक अर्काका विरुद्ध दिइरहेका आक्रामक अभिव्यक्तिले मुठभेड हुने प्रवल सम्भावना देखिएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले संसद बैठकको अवरोध जारी रहने जनाएको छ भने सरकारले जसरी पनि चिकित्शा शिक्षा विधेयक पारित गरिछाड्ने घोषणा गरिसकेको छ ।
बिहिबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गर्दै संसदबाट यो पास गरिछाड्ने घोषणा गरे । डा. केसीले हावामा तरबार चलाउन खोजेको पनि उनको आरोप थियो ।
शुक्रबारको बैठकमा पनि प्रतिपक्षले मन्त्रीलाई रोष्ट्रममा जान नदिए मन्त्री बसेकै स्थानबाट भएपनि विधेयक पेश गराएर पारित गराउने दाउमा सत्तापक्ष रहेको छ । तर, प्रतिपक्षी कांग्रेसले भने त्यसलाई जसरी पनि रोक्ने जनाएको छ ।
कांग्रेसले हाल विदेशमा रहेका प्रधानमन्त्री नआउँदासम्म चिकित्शा शिक्षा विधेयक संसदमा पेश नगर्न सरकारलाई आग्रह गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद दुई चिरामा विभाजित भएका बेला जसरी पनि विधेयक पारित गर्ने भन्दै मुठभेडको स्थिति ननिम्त्याउन सरकारलाई आग्रह गरे ।
सत्तापक्ष र प्रतिपक्षबीच लडाइँ जारी रहेका बेला सभामुख कृष्ण बहादुर महराले भने चिकित्सा शिक्षा विधेयक पारित गर्न शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका छन् । उनले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने र केही न केही निश्कर्ष निस्कनेमा आफू आशावादी रहेको बताए ।
सभामुख महराले शान्तिपूर्ण तरिकाले संसद चलाउने बताएपनि दलहरुबीच जारी मतभिन्नताले संसद बैठक शान्तिपूर्ण हुने सम्भावना देखिँदैन । सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुको आक्रामक अभिव्यक्तिले संसद बैठक शान्तिपूर्ण हुने संकेत गर्दैन ।
प्रतिपक्षले सभामुखको कार्यशैली माथि नै प्रश्न उठाइरहेका कारण उनको पहलले सुःखद नतिजा दिनेमा आशंका कायमै रहेको कांग्रेसीहरु बताउँछन् ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्