काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता साझेदार १० दलले विधेयक पेस गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत १० दलका शीर्ष नेताहरुको बैठकले विधेयक संसद् बैठकमा पेस गर्ने र विधेयकको पक्षमा उभिने निर्णय गरेका थिए ।
मानव अधिकार आयोगले भने पर्याप्त छलफल र परामर्श नगरिकन संशोधन विधेयक ल्याएको भन्दै विरोध गरेको छ । पीडितको न्याय पाउने हकको सुनिश्चितता हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गोमा पुर्याउनु पर्नेमा आयोगको जोड छ ।
आयोगले गएको बिहीवार विज्ञप्ति निकालेर पीडितको न्याय प्राप्त गर्ने हक कुण्ठित हुन सक्नेतर्फ सचेत हुन, विषयगत समितिहरुको तत्काल गठन गरी व्यापक छलफल गर्न, सर्वोच्च अदालतको आदेश र मानव अधिकार आयोगले विगतमा पटक पटक गरेका सिफारिस बमोजिम ऐन निर्माण गर्न र भविष्यमा द्वन्द्व नदोहोरिने प्रत्याभूति गराउने एवम् अन्तर्राष्ट्रिय मापदण्ड र मूल्य मान्यता अनुकूल हुने गरी विधेयकको संशोधन गर्न ध्यानाकर्षण गराएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्