बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीतिगत भ्रष्टाचार गराउन माफियाहरु संसद् प्रवेश गरेको आरोप लगाएका छन् ।
बुटवलमा प्रगतिशिल पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले संसदमा ठेकेदार र माफियाको प्रवेशले कानुन निर्माणमा समेत बदमासी भएको बताए ।
‘शिक्षा क्षेत्रमा माफिया, मेडिकल माफिया, व्यवसायी माफिया संसद् प्रवेश गरेर उनीहरुले चाहेजसरी काम गराउन खोजेका छन्–उनले भने–तिनै माफियाको अगाडि सरकारले घुँडा टेकेर लम्पसार परेको छ ।’
संवैधानिक आयोग र न्यायाधीश नियुक्तिमा समेत दलीय भागवण्डा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले भने–पैसा बुझाएर न्यायाधीश बन्नुपर्ने, राजदूत बन्नुपर्ने मुलुकमा सामान्य जनताले कसरी राम्रो सेवा पाउँछन्, तपाइँ आफै भन्नुस् ।’ उनले टाठाबाठा र सत्तामा रहेकाहरुका लागि समृद्धि आइसकेको र सर्वसाधारण जनता थिचोमिचोबाट माथि उठ्न नसकेको बताए ।
‘समृद्धि त मोहन समशेरको पालामा पनि थियो होला नि उनीहरुका आसेपासे र सत्ताका मान्छेलाई, आफन्तहरुलाई,–उनी तर्क गर्छन्–अहिले त्यहाँ भन्दा केही फरक देख्नुभएको छ ? देश त १०–१२ प्रतिशत टाठाबाठा र माफियाहरुले चलाइरहेका छन् ।’
भेनेजुएलाको विषयमा धारणा राख्दै नेता केसीले पूर्व एमालेका केही नेताहरु र सरकारमा रहेकाहरु अमेरिकाको डरमा वास्तविक कुरा बोल्न डराइरहेको बताए ।
‘अमेरिकाको तानाशाही प्रवृत्तिको विरोध गर्नुपर्ने ठाउँमा लोलोपोतो गरिरहेका छन्, उनले भने–पूर्वमाओवादीहरु प्रष्ट देखिए, उनीहरु सही बाटोमा छन् ।’
उनले भेनेजुएलाको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको धारणाप्रति समर्थन गरे । ‘वास्तविक कुरा नै त्यही हो, उनी भन्छन्–भएको कुरा बोल्न किन डराउने ?’
प्रकाशित मिति : शनिबार, माघ २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्