सन् २०१४ मा इन्क म्यागेजिनमा ‘नेतृत्व र व्यवस्थापनका विश्वविख्यात’ भनिएका जोन खुरन्धार लागि रहने व्यक्ति सफल हुन पुग्छ । कुनै पनि चुनौतीको सामना गर्दा खुरन्धार लागि रहन सके मात्र सफल बन्न सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भन्ने चलन नै छ ।
इच्छा गर्नेहरूले उपाय निकाल्दछन्, फरक त्यति मात्र हो कि हाम्रो इच्छा कतिको दृढ छ ? सानो हुँदा ‘तिर्खाएको काग’ भन्ने बाल कथा पढेको थिएँ । तिर्खाले ब्याकूल भै भौतारिएको कागले भुड्काभित्र पानी देख्छ, जुन सहजै उसले पुग्न सक्दैन तर उसको पानी पिएर प्राण धान्ने दृढ चाहनाका कारण उसले वुद्धि लगाउँछ र आफ्ना चुच्चाले समात्न सक्ने साना साना ढुङ्गा भुड्काभित्र हालेर विस्तारै पानी माथि आइसकेपछि आफ्नो तिर्खा मेट्छ । सायद यो कथा हामी सबैले कुनै न कुनै रूपमा सुनेका छौं र यसको सार ‘जहाँ इच्छा त्यहाँ उपाय’ वा ‘खुरन्धार लाग्ने सफल हुन्छ’ भन्ने बुझेका छौं । यदि कथा सुनेका थिएनौैं वा यसको सार बुझेका थिएनौं भने अब बुझ्न कठिन नहोला ।
खुरन्धार लागि रहनु भनेको कुनै काम वा कुरालाई विरोध वा अवरोधको सामना गर्न परे पनि नत्याग्नु तर त्यसलाई दह्रोसँग समात्दै अघि बढ्दै जानु हो । संयुक्त राज्य अमेरिकाका ३०औं राष्ट्रपति जोन क्याल्भिन कोलिजले एक पटक भनेका थिए; “संसारका कुनै पनि कुराले दृढताको स्थान लिन सक्दैन । नत प्रतिभा; प्रतिभा भएर पनि असफल हुनेहरू अब सामान्य भइसके । विशिष्ट खुबीले पनि काम गर्दैन; बिना पुरस्कारको विशिष्ट खुबी त उखान नै हुनपुग्छ । शिक्षाले पनि काम गर्दैन; बेअर्थका शिक्षितहरूले संसार भरिएको छ । खुरन्धार लाग्ने क्षमता वा दृढता नै सर्वशक्तिमान हुन्छ । ‘अघि बढ्दै जाऔं’ को नाराले नै संधै मानव जातिको समस्याको समाधान गर्दछ ।”
हामी अवरोधको सामना गर्दै अघि बढ्छौं । हाम्रो गन्तव्यतर्फ लम्कदै गर्दा हामी थुप्रै उतार, चढाव, बाधा–विरोध, खुट्टा तान्ने प्रवृत्ति आदिसँग सामना गर्दै आएका छौं । ज्ञान र सीपको कमी, विचार मिल्ने साथी वा सहकर्मीहरूको अभाव, आर्थिक तथा भौतिक खाँचो जस्ता कुराले पनि हामीलाई गन्तव्यतर्फको यात्रामा अवरोध ल्याएको हुन्छ । धेरै मानिसहरू अवरोध देख्नासाथ आफ्ना गन्तव्य यात्रा त्याग्छन् र फर्किन्छन् । पेशा वा व्यवसाय, राजनीति वा समाजसेवा जुनसुकै क्षेत्रका किन नहून्, अवरोधको सामना गर्नदेखि डराएर विचैमा गन्तव्य त्याग्नेहरूको लर्को जताततै सुनिन्छ, पढिन्छ र देखिन्छ ।
गन्तव्यमा पुग्न वा सफलताको लागि मानसिक रूपले तयार हुनु पर्दछ । हामी गन्तव्यमा पुग्न मानसिक रूपले तयार भई सो प्राप्त नभएसम्म खुरन्धार लागि रहन सक्नु पर्दछ । धेरै मानिसहरू केही पटक असफल हुँदैमा निराश हुन्छन्, मानसिक रूपमै डराउँछन् र संलग्नताका क्षेत्रबाट हात झिक्छन् । उनीहरू पूरै भविष्य अन्धकार देख्छन् किनकि उनीहरू असफल भइन्छ कि भन्ने डरकै कारण असफल हुन पुग्छन् ।
अमेरिकाका विश्व प्रसिद्ध वैज्ञानिक तथा व्यवसायी थमस एडिसन जसले विद्युत उत्पादन, आम सञ्चार, आवाज रेकर्डिङ्ग, चल चित्र लगायत १०९३ वटा विभिन्न कुराको आविष्कार गरेका थिए । उनले एउटै कुरा प्रमाणित गर्नका लागि १७,००० पटकसम्म प्रयोग गर्न चुकेनन् । लाइट बल्ब आविष्कार गर्ने क्रममा उनी १०,००० पटक असफल भए तर उनी निराश भएनन् बरु उनले भने “ म असफल भएको छैन तर यो यो कुराले नहुने रहेछ भन्ने १०,००० कुरा थाहा भयो ।” उनी हजारौं पटक असफल रहे पनि अन्तमा सफल भएको हामी पाउँछौं । हामी त दुई वा चार पटक लक्ष्य प्राप्तीमा असफल हँुदैमा सधैंका लागि सो त्याग्दछौं । तसर्थ गन्तव्यमा पुग्न कम्मर कसेका व्यक्ति असफलताको कारण खोज्दै त्यसको समाधानका लागि मानसिक रूपले तयार हुनै पर्दछ ।
गन्तव्य प्रति पूर्णरूपले समर्पित हुनैपर्छ । दक्षिण अफ्रिकाका क्रान्तिकारी नेता नेलसन मण्डेलाले कालाहरूमाथि सेताहरूको हैकमवादी शासनको विरुद्धमा लगातार जनमत तयार गर्दै क्रान्तिलाई निरन्तरता दिइरहे ।
संघर्षका दौरान उनी आजीवन कारावासको सजाय पाएर २७ वर्षसम्म जेलमा बस्न बाध्य भए । उनको दर्शन हराएन, गन्तव्य तुहिएन बरु उनको समर्पणताको प्रतिफल रंगभेद विरुद्धको युद्धको डरका कारण सेताहरूको सरकारले उनलाई छोड्न बाध्य भयो । उनी दक्षिण अफ्रिकाका राष्ट्रपति मात्र बनेनन्, दक्षिण अफ्रिकी जनताले उनलाई ‘मादिवा’ नाम दिए अथवा उनी ‘राष्ट्रपिता’ का नामले चिनिए । बाल बालिकाको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने नोबल शान्ति पुरस्कारले पुरस्कृत मदर टेरेसा दक्षिणपूर्वी युरोपको म्यासेडोनियामा जन्मेकी थिइन् । उनी उदार हृदयले इश्वरीय कृपा देखाउने, गर्भमा रहेका, जन्मिएका र मरोस् भनी कसैले सडक किनारामा त्यागिएका बाल बालिकाहरूकोे रक्षा गर्न आफैंलाई समर्पित गर्ने महान नारी थिइन् । भारत सरकारले उनलाई भारत रत्न लागायत विभिन्न मान पदवीले सम्मानित गरेको थियो । उनको जन्मको शत वार्षिकी मनाउने क्रममा भारत सरकारले उनी भारतमा आइपुग्दा उनीसँग भएको ५ रुपियाँको सम्झनामा २८ अगष्ट २०१०मा पाँच रुपियाँको सिक्का निकालेको थियो । देश र समाजको बृहत्तर हितका लागि समर्पित व्यक्तिहरूलाई देशले उच्च कदर गर्दछ ।
समर्पितहरूले नै परिवर्तन ल्याउँछन् । दक्षिण अफ्रिकाका नेल्शन मण्डेला तथा भारतमा मदर टेरेसाको कथा हामीले सुनी हाल्यौं । नेपालमा पनि २००७ सालमा जनताको क्रान्तिबाट १०४ वर्षे राणा शासन नफ्याकेसम्म प्रजातन्त्रका लागि समर्पितहरूले कठोर संघर्ष मात्र गरेनन्, देशका निम्ति झुण्डिएर मारिई सहिद बन्न तयार भए । जनताले प्रजातन्त्रको स्वाद राम्रोसँग चाख्नै नपाई नेपाली नागरिकहरूले २०१७ सालमा फेरि निर्दलीय पञ्चायत तन्त्रको सामना गर्न प¥यो । कोही यसमा रमाए भने कसैले संघर्षलाई निरन्तरता दिदैं सशस्त्र क्रान्तिको बाटो समात्न पुगे ।
जनताको निरन्तर साथ र सहयोगबाट अघि बढेको क्रान्तिले अन्ततोगत्वा २४० वर्ष पूरानो इतिहास बोकेको सामन्ती शाही राज्यको अवशान गरायोे र जनताले खोजेको जस्तो शासन हात लाग्यो । कसैकसैको यसमा विमति कायमै छ । यो सबको जस तिनै समर्पित नेता र कार्यकर्ताहरूलाई नै जान्छ, र दिनैपर्छ । याद रहोस्, पानी पिउन समर्पित भएकै कारणले कागले पानी पिउन सकेको हो ।
खुरन्धार लागि रहनेहरू जनताका प्यारा हुन्छन् । नेपालमा रहेको छ हजारभन्दा बढी नदी नालाबाट त्रियासी हजार मेघावाट जल विद्युत निकाली विदेशमा समेत निर्यात गर्न सक्ने क्षमता भएका हामीहरू बेलुका बत्ती बाल्न पुग्ने बिजुलीको अभावमा १८ घण्टा लामो लोड सेडिङ्गको मारमा जीउन बाध्य भएका थियौं । जल विद्युतका क्षेत्रमा दुई दसकभन्दा बढी विभिन्न जिम्मेवारीमा रहिसकेका कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएको केही समयपछि विद्युत चोरीलाई नियन्त्रण गरी लोडसेडिङ्ग पूर्णरूपले हटाइने भन्ने समाचार बाहिर आयो ।
सबै हाँसे, लोड सेडिङ्ग भएकै कारण फाइदा लिने कर्मचारी, वैकल्पिक ऊर्जा आपूर्तिमा संलग्न व्यापारीहरू तथा राजनैतिक स्वार्थपूर्तिमा लागेकाहरूले असहयोग मात्र गरेनन्, चरित्र हत्यासम्मका प्रयास गरे तर विद्यूत चोरी र चुहावट नियन्त्रण गदैं लोड सेडिङ्गको अवस्था आउन नदिन दृढ भई खुरन्धार लागि रहेका कुलमान घिसिङ्ग डगेनन् । जनताले राहत पाएका छन्, तालिका बनाई गरिने लोड सेटिङ्ग हटेको छ । अहिले उनी नेपाली जनताले सर्वाधिक रुचाएका व्यक्ति हुन पुगेका छन् ।
अवसरहरू असीमित छन् । आफ्ना अघि समस्या देख्नुको सट्टा अवसर देख्न सक्नु पर्छ । आँखा तन्काएर हेर्न र भोलीका कुराप्रति केन्द्रित हुन सिकियो भने सीमिततामा थन्कनु पर्दैन । धेरै मानिसहरू समस्या सोच्छन्, खोज्छन् र समस्या देख्छन् । सानो र सजिलै समाधान गर्न सकिने समस्यालाई ‘तिललाई पहाड’ देखेझैं गर्छन् र अवरोधको सामना गर्नका सट्टा टाढा भाग्छन् । समस्या वास्तवमा समस्या नभएर अवसर हो भन्ने सकारात्मक प्रकारले हेर्न नसकेकै कारण भागिएको हो ।
दर्शन जति ठूलो देखिए पनि लक्ष्य जति सुकै स्मार्ट बनाए पनि यसमा के कस्ता अवसरहरू छन् हेर्न सकिएन र डरकै पछि लागियो भने आशातीत प्रतिफल हात लाग्नुको सट्टा थोरैमा चित्त बुझाउनु पर्ने हुन्छ । वास्तव मै अर्थपूर्ण लक्ष्यहरू र यसको प्राप्तिका लागि गरिएका प्रयासबाट नै सफल हुने हो । अठारऔं शताब्दीमा फ्रान्समा जन्मिएका आधुनिक औषधीका पिता लुइस पाश्चरले विभिन्न खोप र अन्य रोग रोकथामका उपायहरूको आविष्कार गर्दा यसबाट सर्वसाधारण लाखौं करोडौं मानिसहरूले जीवन पाउन सक्छन् जस्ता कुरा ध्यानमा राखेर र उनले गरेका थुप्रै संघर्षकाबीच पनि प्रशस्त अवसर देखेर नै अघि बढेका होलान् । यदि एक दुइवटा प्रयोग र सानो प्रयासबाट असफल वा अवरोधहरूबाट डराएर केही काम लाग्दो भएन वा फाइदा भएन भनेर पछि फर्किन्थे भने आज उपचारका क्षेत्रमा हाम्रो अवस्था कस्तो हुनेथियो ? वर्तमानमा देखिने प्रतिफल सानै भए पनि भोलिको अवसर के छ सो सोंच्न सक्नेहरू अघि बढिरहन्छन् र गन्तव्यसम्म पुग्न सफल हुन्छन् ।
सर्मथन, प्रोत्साहन र सहयोग गर्नेहरूसँग रहन सिकौं । हामीलाई दृढतासँग अघि बढ्न रोक्नेहरू कतिपटक हाम्रा आफ्नैहरू हुन्छन् । उनीहरूले हाम्रो लगाव, कडा परिश्रम, श्रोत र साधनको लागानी देखेका छन् । धेरै प्रयत्न गर्दा पनि देखिने गरी प्रतिफल नआएको उनीहरूलाई महसुस हुन्छ । तसर्थ उनीहरू हामीलाई अरू मेहनत नर्गन सल्लाह दिन्छन् । कोहीहरू हाम्रो गन्तव्य र लक्ष्य देखेर जल्ने हुन्छन् ।
उनीहरू कसरी हामीलाई रोक्ने र असफल तुल्याउने भनेर सोंचिरहन्छन् । उनीहरू वास्तविक र अवास्तविक असफलताका कथा सुनाएर हामीलाई अघि बढ्नबाट रोक्न खोज्छन् । तसर्थ हामीले हाम्रा वरीपरि नकारात्मक सोच पाल्नेहरूको सट्टा सकारात्मक प्रवृत्तिका मानिसहरू, हामीसँग प्रतिष्पर्धा गर्नेहरूको सट्टा सहकार्य गर्न रुचाउनेहरू र हामीलाई निराश बनाउनुको सट्टा उचित परामर्श दिने, समीक्षा र पुनःमूल्यांकन गर्न उत्साहित पार्नेहरूसँग रहन सिक्नु पर्दछ । हामीले मेहनत गर्नु त छदैं छ तर उत्साहले हामीलाई अघि बढ्न थप प्रेरित गर्दछ ।
समीक्षा गरौं, पुनःमूल्याङ्कन गरौं र परिमार्जन गरौं । यदि हामीले सोंचे जस्तो प्रतिफल आउने देखिएन भने हामीले गरेका प्रत्येक क्रियाकलाप र प्रक्रियाको समीक्षा गर्नु पर्दछ । के कुरा कहाँनेर बिग्रिएछ र यसले काम गर्न सकेन? यसलाई अझ राम्रो बनाउन के गर्न राम्रो होला ? के हामीसँग यसका लागि चाहिने सीप, क्षमता वा सामग्री थियो ? यसको मूल्याङ्कन गरौै । यसबाट पाएको जानकारीले हामीलाई झल्याँस्स बिउझाउन सक्छ । अनि हामी नयाँ तरिकाले अझ असल प्रतिफलका लागि गन्तव्यतिर अघि बढ्न पाउँछौं । नयाँ र सुधारिएको रणनीतिले गन्तव्यमा पुग्न सजिलो बनाउँछ ।
चुनौतीको सामना गर्न सधैं तयार रहनुपर्दछ । न्यूयोर्क टाइम्स्मा अधिक विक्रिहुने किताब लेखकका रूपमा सूचीकृत, नेतृत्वपनका विषयमा थुप्रै किताबका लेखक र सन २०१४ मा इन्क म्यागेजिनमा ‘नेतृत्व र व्यवस्थापनका विश्वविख्यात’ भनिएका जोन म्याक्सवेल भन्छन् कि “हाम्रो जीवनका चुनौतीहरूलाई जति तन्काउँछौ, हामी सफल बन्छौं, जब हामी खुम्च्याउँछौं असफल हुन्छौं ।”
जति चुनौतीहरू आइलाग्छन्, उति यसको सामना गर्दै निरन्तर रूपमा अघि बढिरहनु पर्दछ । गन्तव्यबाट अर्जुनदृष्टि हटाउनु हुँदैन र हाम्रो दृढतामा आँच आउनु हँुदैन । यदि हामी समर्पित, निरन्तर लागिरहने, विभिन्न अवसर वा सम्भाव्यताहरूप्रति खुला रह्यौं भने यसैले हामीलाई हाम्रो गन्तव्यमा पु¥याउँछ । सबै अवरोधहरूको सामना गर्दै अघि बढ्दै जाँदा हामी गन्तव्यमा पुगिसकेका हुन्छौं ।
आनन्दित होऔं र रमाऔं । हामी गन्तव्य नजिक पुग्दा सबै चुनौतीहरू पार गर्दै र अवरोधहरूको सामना गर्दै अघि बढेको सम्झन्छौं, हामी अझ आनन्दित बन्दछौं । यसले हामीलाई अझ सन्तुष्ट र सफल भएको महसुस गराउँछ ।
अप्ठेरो अवस्थामा अल्झिरहँदा वा यसको सम्झनामात्रले पनि हामीलाई निराश बनाउन सक्छ तर यसको सामना कसरी गरियो र गन्तव्यमा पुगियो भन्ने सकारात्मक सम्झनाले हामीमा अझ रमाहट ल्याउँछ, जोश र जाँगर थप्दछ ।
कसरी हामी गन्तव्यमा पुग्यौं ? किनकि हामी निरन्तर अघि बढिरह्यौं । खुरन्धार लाग्दै अघि बढिरहनु पर्ने हाम्रो व्यक्तिगत गन्तव्य वा लक्ष्य के हो सो निश्चित गरौं र दृढतासाथ खुरन्धार लागिरहौं ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्