विप्लवका गतिविधिमाथि सरकारको उच्च निगरानी, नेता कार्यकर्तालाई पक्रिन जिल्लाजिल्लामा निर्देशन

विप्लवका गतिविधिमाथि सरकारको उच्च निगरानी, नेता कार्यकर्तालाई पक्रिन जिल्लाजिल्लामा निर्देशन

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।

गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उनले बताए । सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ ।

विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ ।

गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसूकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।

त्यसपछि हतियार फेला परेमा प्रचलित कानूनअनुसार कारवाही हुने जनाइएको छ ।

फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेल टावर नजिक एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गराइएको बम विष्फोट तथा देशका दर्जनौँ ठाउँमा भएका विष्फोटमा समेत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नामको समूह संलग्न भएको प्रहरीको निष्कर्ष छ ।

विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको अभिलेखमा छ ।

प्रहरीको अनुसन्धानलेसमेत उक्त समूह राजनीतिक शक्ति नभएको निष्कर्ष निकालेको थियो ।

केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले आफूमाथि आक्रमणको सूचना प्राप्त भएको सार्वजनिक गरेका थिए ।

तर प्रहरीले भने भिआइपी र भिभिआइपीको सुरक्षामा जोखिमविहीन (जिरो रिस्क)मा सुरक्षा प्रदान गरिरहेको प्रहरी प्रवक्ता सुवेदीले बताए ।

“सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको छ”, प्रहरी प्रवक्ता सुवेदीले भने, “राजनीतिको आडमा आपराधिक क्रियाकलाप गर्न छुट छैन, सरकारी निर्णयले प्रहरी सुरक्षा एकोहोरो भएको छ ।”

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij