बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको शुभारम्भ गर्न आज रुपन्देही आउँदै छन् । तिलोत्तमामा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज रुपन्देही आउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिए । बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।
प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव घिमिरेले बताए ।
आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव रु १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शय्या रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ ।
यस्तै,बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले आजै शिलान्यास गर्ने बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति आयोजना अन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिए ।
उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ ।
यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ ।
पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताए ।
सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।
उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई/दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्