काठमाडौँ । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति गरेको थियो ।
बाढीले क्षति गरेको १३ दिनमा सडक सञ्चालनमा आए पनि रसुवागढी नाका हुँदै चीनसँगको कनेक्सन जोडिन सकेको छैन । यस्तै कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
नदीको बहाब घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइरहेको छ । तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिजमा बाढीले क्षति गर्दा चतरा–मुलघाट अमरापुरडाँडा–गणेश चोक सडक पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ ।
साथै पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठुला चट्टानसहित आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्