७ वटा विद्युत् ग्रिड सबस्टेशन स्वचालित प्रणालीमा सञ्चालन

७ वटा विद्युत् ग्रिड सबस्टेशन स्वचालित प्रणालीमा सञ्चालन

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेशन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेशनलाई स्वचालित बनाउन शुरू गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी ७ वटा ग्रिड सबस्टेशन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको छ ।

अब यी सबस्टेशनहरू काठमाण्डौको मीनभवनमा रहेको प्राधिकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ । स्वचालित रूपमा सबस्टेशन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

स्यूचाटार, टेकु, मातातीर्थ, चावहिल, के–थ्री र लामासाँघु गरी बाँकी ६ वटा सबस्टेशन दुई महिनाभित्र स्वाचालित प्रणालीमा आबद्ध गरिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेशन पूर्णरूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताउनुभयो ।

उहाँले स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नुनपर्ने समेत उल्लेख गर्नुभयाे ।

 

एशियाली विकास बैंक (एडीबी) को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजना अन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा सबस्टेशनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत झन्डै ६१ करोड रुपैयाँ रहेको छ ।

 

त्यस्तै देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेशन स्वचालित बनाउन एडीबीको सहुलितपूर्ण ऋणमा काम भइरहेको छ । यो काम आउँदो डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सबस्टेशन स्वचालित हुनेछन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij