काठमाडौं , रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।
पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।
होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।
पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्चलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्