काठमाडौ
संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ ।आजप्रतिनिधिसभाको बैठकको सुरुमा नै बैठकको अध्यक्षता गर्नुभएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेश औपचारिक रुपमा आरम्भ भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशनको आह्वान र अन्त्य भएको घोषणा गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उपभामुख तुम्बाहाम्फेले पढेर सुनाउनुभएको थियो।
त्यसैगरी, आज नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पुर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले २०५१ सालमा तात्कालीन नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टा छुटै शोक प्रस्ताव पारित गरेको हो ।
प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसैबीच, प्रतिनिधिसभाको पुस ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले यस्तो निर्णय गरको हो । अधिवेशको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको हो । शुक्रबार देखि सुरु भएको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिने गरिन्छ । संसदको पाँचौ अधिवेशन अर्थात् विधेयक अधिवेशनमा छलफलका लागि तयारी अवस्थामा रहेका विधेयकहरु अधिकांश विवादित छन् ।
चौथो अधिवेशनपछि राष्ट्रियसभामा २ वटा र प्रतिनिधिसभामा ६ वटा नयाँ विधेयक दर्ता भएका छन् । चौथो अधिवेशनमा पारित हुन बाँकी ८ वटा विधेयक सांसदहरुलाई अध्ययनका लागि बाडिएको छ । १५ वटा विधेयक विषयगत समितिमा छलफलका क्रममा छन् । विशेष गरेर अघिल्लो अधिवेशनमा नै संघीय संसदमा पेस गर्ने तयारी गरिएको नागरिकता विधेयकलाई महत्वका साथ हेरिएको छ । यो विधेयक संसदीय समितिमा छलफलकै क्रममा छ । मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद् ,शान्ति सुरक्षा, कर्मचारी सम्बन्धी, लोकसेवा आयोग, मिडिया काउन्सिल लगायतका विधेयकहरु अधिवेशनबाट पास गर्ने तयारी सरकारले गरेको छ । यी विधेयकमा राखिएका प्रावधान सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असहमति जनाउँदै आएको छ । राष्ट्रियसभामा दर्ता भईसकेको नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयक फिर्ता लिन काँग्रेसले सरकारलाई दबाब नै दिएको छ । गत असोज २ गते संसदको चौथो अधिवेशन अन्त्य भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्