गणित अङ्क, अक्षर तथा चिन्ह आदि सङ्केतहरुको माध्यमबाट परिणाम दिशा र स्थान आदि बोध हुने बिषय हो।यसबाट प्रकृतिको कृया एवम् परिवर्तनलाई सङ्केतहरुको शब्दावलीमा परिवर्तित गरी बुझ्ने गरिन्छ। विभिन्न विद्वानहरुले गणितलाई आआफ्नै शैलीबाट परिभाषित गरेका छन् ।
लकअनुसार गणित त्यो मार्ग हो जसद्वारा बालबालिकाको मनमस्तिष्कमा तर्क गर्ने बानी स्थापित हुन्छ। मार्सलअनुसार गणित अमूर्त तत्वबाट बनेको छ तर यस्ता तत्वलाई मूर्तरुपमा परिभाषित गरिन्छ। जे होस् गणित सारतस् तार्किक बिचारको बिज्ञान र गणनादिको प्रधानता भएको बिषय हो ।
गणितको सम्बन्धमा एउटा मान्यता नै बनिसकेको छ कि यो एक कठिन बिषय हो ।यसै कारण विद्यार्थीभित्र गणितको डर पहिले नै बनिसकेको हुन्छ । नचिनिकनै ऊ गणितसङ्ग डराई रहेको हुन्छ । १२ कक्षा पश्चात् अभिभावकहरुले नै गणित छनौटमा रोक लगाउँछन् ।
जागिर र विवाह सहज होस् भन्ने उनीहरूको अभ्यन्तर सोच हो । घर ,समाज हुँदै राष्ट्र नै गणित बिषयमा पछि परिरहेको छ। माध्यमिक शिक्षा पश्चात् त गणित एक ऐच्छिक बिषयका रूपमा व्यवस्था गरेको छ पाठ्यक्रमले ।
गणितप्रतिको यो भय सार्वदेशिक रहेनछ किनभने सिङ्गापोर,कोरिया ,जपान,आयरल्याण्ड,नर्वे इङ्ग्ल्याण्ड र रसिया जस्ता देशका विद्यार्थीहरुको गणितप्रती ज्यादै रुचि हुनाले नै यी देश गणितमा उत्कृष्ट देश कहलिएका छन् । यी देशमा गणित कठिन छैन ।
पाठ्यक्रम, विद्यार्थीको शारीरिक, मानसिक क्षमता, रुचि र आवस्यकतानुसार निर्माण गरिन्छ । वर्ष्दिनमा कति दिन पढाइ होला र प्रतिदिन विद्यार्थीले कतिसम्म सिक्न सक्छ भन्ने कुरा यहींका विद्यार्थीको अध्ययन गरेर मात्र तयार गरिन्छ । पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य र बिषयक्षेत्रका आधारमा मात्र पाठ्यपुस्तक तयार पारिन्छ ।
सानो कक्षादेखि ठूलो कक्षासम्म पाठ्यवस्तुको स्तर क्रमिकरुपमा अग्रगामी हुन्छ । सकेसम्म एउटा पाठको सारवस्तु अर्को पाठसङ्ग कुनै न कुनै प्रकारले अन्तरसम्बन्धित बनाइएको हुन्छ ।
कुनै पाठ विशेषले दिन खोजेको जानकारी नछुटाई क्रमिक एवं सिलसिलेवार ढङ्गबाट बिद्यार्थीले ग्रहण गर्ने अवसर पाउँछ भने, बिद्यार्थी कसरी कमजोर बन्न सक्छ र ?
प्रमुख बिषयहरुका साप्ताहिक पाठ्यभार एउटै अर्थात हप्ताको ६ पिरियड राख्नाले के सङ्केत गर्छ सहज अनुमान गर्न सकिने कुरा हो। पाठ्यक्रम निर्माता एवं शिक्षाविदहरुले गणितलाई कठिन नमानेको तर समाजले कठिन भनेर अफवाह फैलाएको जरुर हो । स्पष्ट छ बिद्यार्थीहरु गणितमा कमजोर होइन अपितु कमजोर बनाइन्छ ।
गणित पढिने बिषय नभै गरिने बिषय हो । शिक्षकले अभ्यासका लागि कक्षामा सहज वातावरण तयार पार्नुपर्छ । आफूमात्र सक्रिय भएर सबै समस्या हल गरिदिने हो भने बिद्यार्थीको सिर्जनात्मकता क्रमिकरुपमा ह्रास भएर जान्छ ।
बालमैत्री कक्षा वातावरण तयार पार्दै गणितका लागि साना कक्षाहरुमा निगमन (डिडक्टिभ) र क्रमशः माथिल्ला कक्षाहरुमा आगमन (इन्डक्टिभ) विधिको प्रयोग आवस्यक छ । २–३ पटक कोर्स सिध्याएँ भन्दै बहादुरी देखाउने शिक्षकले बिद्यार्थीलाई गुमराहमा पारेको हुन्छ ।
नेपाली शिक्षकको अभावका कारण नेपालमा लामो समयसम्म गणित, इङ्गलिस र विज्ञान बिषयको शिक्षण धेरै जसो भारतीय शिक्षकहरुबाट भयो । भाषागत भिन्नताका कारण शिक्षणमा समस्या आउनु स्वाभाविक थियो।
सुनाई पर्दैन, दिखाई पर्दैन, ठिक ढङसित लिख्नुस, यो सवाल घरसित बनाएर लाउनुस प्रभृतिका अभिव्यक्ति वा निर्देशन बिद्यार्थीलाई बुझ्न हम्मे हम्मे हुन्थ्यो । नेपाली एवं गैह्र नेपाली सबै जसो शिक्षकले आआफ्नै शैलीमा शिक्षण गरेको अवस्था थियो त्यो।
बाल मनोविज्ञान नबुझी अध्यापन गर्नु भनेको झन ठूलो समस्या निम्त्याउन सुपारी दिनु जस्तै हो । असफल, फेल, गलत, हा¥यो ,मूर्ख, गोबर गणेश, सिल्ली जस्ता शब्द शिक्षणका दौरान प्रयोग गर्नै नहुने शब्द हुन् ।
यस्तै शब्द भरमार प्रयोग हुन्छन् हाम्रा विद्यालयमा । अनुचित भाषा प्रयोगकै कारण होनहार विद्यार्थी निष्क्रिय बिद्यार्थीमा परिणत हुन्छ। साना कक्षाका बिद्यार्थीको कपी जाँचेपछि गलती भएपनि यस्तो (×) चिन्ह प्रयोग गरी काट्न हुँदैन ।
बरु फेरि गर भन्नु राम्रो हुन्छ । गणितको गलतीमा नै अक्सर ज्यादा पिटाइ खान्छ बिद्यार्थी । तुलनात्मक रूपमा भन्ने हो भने सबैभन्दा धेरै सुत्र गणित बिषयमा नै प्रयोग हुन्छ ।
सुत्रको उत्पत्ति प्रक्रिया बताइन्न स मात्र कण्ठ गर्न लगाइन्छ र गणितीय समस्या समाधानमा प्रयोग गर्न लगाइन्छ ।
आश्चर्य छ गणित एक तर्कको बिषय तर शिक्षण अतार्किक ! कसरी सजिलो मान्छ बिद्यार्थीले यो बिषय ? सजिलो बिषयलाई कठिन बनाएर अतिरिक्त कक्षा सञ्चालनको मार्ग फराकिलो बनाउने दाउ भनेर किन नभन्ने हामीले अब ?
गणितमा प्रयुक्त पाठशीर्षक र निर्देशनसमेत विवादरहित रहेनन् । सरल ,स्पष्ट र अर्थपूर्ण शीर्षक एवं निर्देशन भै दिए बिद्यार्थीलाई पाठ्यवस्तु बुझ्न सजिलो हुने थियो । ऐकिक नियम गर, सरल गर ,भिन्न गर यी अर्थहीन शीर्षक एवं निर्देशन हुन् ।
ऐकिक नियम गरिँदैन बरु सो नियम प्रयोग गरी हिसाब गरिन्छ । सरल गरिने कुरा नभै बनाइने कुरा हो । त्यस्तै भिन्नसम्बन्धी पनि हिसाब गरिन्छ । ऐकिक शब्दको अर्थ बिरलै बिद्यार्थीले पाएका होलान् । पाठशीर्षक र पाठ्यवस्तुबीचको सम्बन्ध नै नखुलेपछि कति सार्थक भए होला त्यो पढाइ ?
शिक्षकहरुमा क्षमता र विशेषता देशैपिच्छे फरक फरक हुनु स्वाभाविक हो। युरोपेली शिक्षकहरुले सजिलै चित्र बनाई अनेकानेक उदाहरणबाट स्पष्ट पार्ने गर्छन् । भारतीय शिक्षकहरुले पौने , सवा , डेढ र अढाइका पहाडा ( गुणन तालिका ) कण्ठस्थ पारेको पाइन्छ ।
व्यवहारिक गणितीय समस्याको समाधान यिनीहरु छिटो र सहज ढङ्गबाट दिन्छन् । त्यसैले पनि हुनसक्छ त्यहाँ गणित बिषयले बिद्यार्थीको सातो लिन्न । सैद्धान्तिक र व्यवहारिक दुवैरुपमा प्रसस्त प्रयोग हुन आवश्यक छ गणित । यसका लागि पाठ्यक्रमको राम्रो सिंहावलोकन गरी गणित कठिन छ भन्ने अवधारणा राष्ट्रियस्तरबाटै निर्मूल पार्नुपर्ने देखिन्छ ।
शिक्षामा अनेकानेक प्रयोग भए । माथिबाट चालिएका अभियान राम्रै होलान् भन्ने भान हामी सबैमा परेकै हुन्छ । यो ’ माथि ’माथि पनि अब शङ्काको दृष्टिले हेर्नैपर्ने भएको छ । शिक्षक तालिमका नाममा पचासौं प्रकारका तालिम चलाइए।
सबैजसो शिक्षकहरुले १० महिने सक्षमतामा आधारित तालिम पूरा गरिसक्दा विद्यार्थी शैक्षिक उपलब्धि सूचकांक क्रमिकरुपमा ओरालो लागेको देखिएको हो। मेरो आसय राष्ट्रिय लगानी (पूँजी, तालिम, समय आदि) ले पनि गणितप्रतिको त्रास समाप्त पार्न सकेन । जनस्तरबाट गणित कठिन होइन भन्ने सन्देश प्रवाह गर्नुपर्ने होकि ?
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्