आगामी दिनमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने कांग्रेसको उद्घोष

आगामी दिनमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने कांग्रेसको उद्घोष

काठमाडौं ।
प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठानेर प्रतिशोधको व्यवहार प्रस्तुत गरेको भन्दै नेपाली कांग्रेसले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीनेकपाको नेतृत्वमा गठन भएको सरकारको दुईवर्षे कार्यकालको समीक्षा सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले आगामी दिनमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने उद्घोष गरेको हो ।
कांग्रेसले आगामी दिनमा प्रतिपक्षको भूमिकामा पुग्ने राजनीतिक दललाई जिम्मेवार प्रतिपक्ष बनाउन आफूले दुई वर्षको अवधिमा शालिन र जिम्मेवार भूमिका निर्वाह गरेको पनि दाबी गरेको छ । “नेकपाको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो दुई वर्षको अवधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको छ,” पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “यो दुई वर्षको अवधिमा हामीले बरु कमजोर भएको आलोचना व्यहो¥यौं । तर, जिम्मेवार प्रतिपक्षको नमुना भोलि भविष्यका प्रतिपक्षीलाई पनि स्थापित गर्नुपर्छ भन्ने दूरगामी सोचका साथ हामीले शालिनता राखेका छौं । आगामी दिनमा त्यो शालिनतालाई केही प्रखरतामा बदल्दै सरकारसँग व्यवहार गरिने यसै पत्रकार सम्मेलनमार्फत उद्घोष गर्न चाहन्छौं ।”
सीमा, राष्ट्रियता, संविधानप्रति अपनत्वको दायरा विस्तार र लोकतन्त्र सुदृढीकरणको मुद्दा तथा समृद्धितर्फको यात्रामा कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको स्मरण गर्दै उनले राष्ट्रियताको प्रश्नमा सरकारको अर्कमण्य भूमिका, संविधानको मर्मविपरीतका विधेयक, आर्थिक अनियमितता र भ्रष्टाचारको प्रश्नमा कांग्रेस सरकारको विपक्षमा उभिँदै आएको जिकिर गरे ।

प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठान्ने अधिनायकवादी मनोविज्ञानबाट सरकारले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको र प्रतिपक्षी दलका नेता, कार्यकर्तामाथि अवाञ्छित ढंगले प्रतिशोधको व्यवहार प्रस्तुत गरेको भन्दै प्रवक्ता शर्माले आपत्ति जनाए ।
“यो पृष्ठभूमिको जगमा कांग्रेस केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले सरकारका असफलता उजागार गर्दै जनविरोधी गतिविधिविरुद्ध दबाब बढाउने निर्णय गरेको छ,” उनले भने । कांग्रेसले अधिनायकवादउन्मुख आकांक्षा पालेर सरकारले अनुकूल परिस्थितिलाई सदुपयोग गर्नुको सट्टा आफैले क्रमशः प्रतिकूल बनाउँदै गएको टिप्पणी गरेको छ । सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि सहज समयको सदुपयोग परिणामुखी ढंगले गर्न नसकेको पनि दाबी गरेको छ ।यी हुन कांग्रेसले देखेका जनअपेक्षाअनुरूप कार्य गर्न तीन अनुकूल परिस्थिति
१ शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत मुलुकमा निर्मित तुलनात्मक सहज राजनीतिक वातावरण ।
२नेकपासँग रहेको बहुमत एवं संसदमा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुईतिहाइ ।
३तुलनात्मक रूपले जिम्मेवार र सालिन प्रतिपक्षको उपस्थिति ।कांग्रेसले दुई वर्षीय अवधिमा आफूले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै सरकार अनुत्तीर्ण भएको पनि निचोड निकालेको छ । कांग्रेस प्रवक्ता शर्माले प्रतिपक्षी दलका हैसियतमा कांग्रेसलाई विशिष्ट श्रेणीको प्राप्तांक दिँदै सरकारले दुई वर्षमै अनुउत्तीर्ण भएको दाबी गरे ।“कांग्रेसले प्रतिपक्षीको रुपमा जिम्मेवार भूमिका निर्वाह गरेको छ । आफैँलाई धेरै नम्बर दियो भन्ने आरोप पनि लाग्ला । प्रतिपक्षीका रूपमा कांग्रेसले डिस्टिङ्सन ल्याएको छ,” उनले भने, “नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले उत्तीर्णांक नम्बर पनि ल्याउन सकेन ।” कांग्रेसले सरकारको कामको समीक्षा चुनावी मैदानमा वितरण गरिएको घोषणापत्रमा उल्लिखित दुई वर्षे लक्ष्य र कार्यक्रमको जगमा सिंगो देशले गरिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावी घोषणापत्रको आलो आफ्नो कर्मको अनुहार हेर्न सुझाएको छ ।“कृषि, सडक, विद्युत्, प्रविधिदेखि गरिबी परिचयपत्र वितरण सम्मका २ वर्षे लक्ष्यले परिणाम हासिल गर्ने सकेनन् । सरकारको कामको समीक्षा चुनाव मैदानमा वितरित घोषणापत्र र त्यसमा उल्लेखित दुईवर्षे लक्ष्य र कार्यक्रमको जगमा सञ्चार माध्यमहरूसँगै सिंगो देशले गरिरहेकै स्थिति छ,” प्रवक्ता शर्माले भने, “प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेस हिजोको घोषणापत्रको आलोकमा आफ्नो कर्मको अनुहार हेर्न सम्माननीय प्रधानमन्त्री एवं उहाँको सरकारलाई अपिल गर्दछ ।”

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij