काठमाडौं ।
प्रतिनिधिसभाको संसदीय छानबिन समितिले पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड जातीय भेदभाव र छुवाछुतका कारण भएको निष्कर्ष निकालेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित छानविन समितिले जातीय भेदभाव र छुवाछुतका कारण चौरजहारी हत्याकाण्ड भएको निष्कर्ष निकाल्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
प्राप्त प्रतिवेदनको निष्कर्षमा लेखिएको छ, “रुकुम पश्चिम सोतीमा मिति २०७७ जेठ १० गते घटित यस दुःखदपूर्ण घटनाको जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं। ४ रानागाउँका बर्ष २१ को नवराज विक पश्चिम जिल्ला चौरजहारी न।पा। वडा नं। ८ सोतीकी बर्ष १७ कि सुष्मा मल्लबीचको अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएका कारण अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछूतको कारणले भएको पाइयो ।”
प्रतिवेदनमा आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले उल्लेख गरेको छ । संसदीय छानविन समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रहरीबाट घटनाको फितलो छानविन गरिएको,प्रमाणहरु पर्याप्त रुपमा संकलन नगरेको फेला परेको प्रतिक्रिया दिए ।अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।
उक्त घटनाको छानविन गर्न जेठ २६ गते प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्