गिद्ध शिकारी चरा समूह अन्तरगत पर्ने मांसहारी पन्छी हो । प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता कार्य गरी मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिइरहेको छ । हाल सम्म विश्वमा तेईस प्रजातिका गिद्धहरु पाईन्छन् । दक्षिण एशियमा नौ प्रजातिका गिद्धहरु पाईन्छन र ति सबै नौ प्रजातिका गिद्धहरु नेपालमा पनि पाईन्छन् । ति नौ प्रजाति गिद्ध मध्ये ६प्रजातिका गिद्धहरु नेपालकै रैथाने हुन् जसले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाको रुपमा आउने गर्छन् । नौ प्रजातिका गिद्धहरु मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुंडे गिद्ध, सुन गिद्ध अति संकटापन्न अवस्थामा, गोब्रे गिद्ध संकटापन्न र बाँकी अन्य गिद्ध सकटको नजिक पुगेको अवस्थामा छन् ।
भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानहरुबाट गिद्धहरुको संख्यामा हस आउनुको मुख्य सम्भवतः एक मात्र कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधि (Non-Steroidal Anti-inflammatory drug-NSAID) डाईक्लोफेनेक भएको सिद्ध भैसकेको छ । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रुपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुहरुको सिनो गिद्धहरुले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगर्ने भई मर्दछन् । गिद्धहरुलाई डाईक्लोफेनेक युक्त आहारा खानबाट रोक्नु नै पहिलो र तत्काल संरक्षणको प्राथमिकता हुनु पर्दछ ।
विभिन्न प्रजातिका गिद्धहरुको औसत हेर्दा विश्वबाट ९५ प्रतिशत भन्दा बढीले गिद्ध लोपभईसकेका छन् । यही विकराल अवस्थालाई मध्यनजर गरी नेपाल सरकार, औषधि ब्यवस्था विभागले डाईक्लोफेनेक औषधिलाई वि.स. २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री बितरणमा कानूनी कारबाहीको प्रावधान सहित प्रतिबन्ध लगाएको छ ।
विश्वबाटै गिद्धहरु लोपोन्मुख भएको दयनीय अवस्थालाई उच्च महत्व दिई नेपाल सरकारले गिद्ध संरक्षण सम्वन्धि राष्ट्रिय कार्ययोजनासन् २००९—२०१३ र यसको सफल कार्यान्वय पश्चात संसोधित कार्ययोजना सन् २०१५–२०१९ लागु गरेको छ । नेपाल सरकारको यो कार्ययोजनालाई सफल र उपलब्धिमूलक बनाउन नेपालका विभिन्न जिल्ल्लाहरुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको पहल र प्रयासमा गिद्ध संरक्षण सम्वन्धि प्रभावकारी कार्यक्रमहरु संचालन भैरहेको छ ।
नेपाल पंन्छी संरक्षण संघ चरा तथा जैविक विविधताको क्षेत्रमा कार्य गर्ने नेपालकै आधिकारिक जेठो संस्था हो । नेपालमा पाईने आठ सय छ्यासी (८८६) प्रजातिका चराहरु मध्य गिद्ध पनि एक प्रजातिको चरा हो, जुन चरा सन् १९९० को दशक यता विश्वबाटै लोप हुने खतरामा रहेको तथ्य आईयूसिएन लगायत विभिन्न संरक्षणको क्षेत्रमा कार्यरत आधिकारिक वैज्ञानिक संस्थाहरुले खतराको सूचक दिईरहेको अवस्थामा यस नेपाल पंन्छी संरक्षण संघले संकटापन्न अवस्थामा पुगेका पन्छीहरुलाई संरक्षण गर्ने यसको लक्ष्य तथा उद्देश्य रहेकोले संसारबाट संकटापन्न अवस्थामा पुगेको चरा गिद्धलाई संरक्षण गर्न सन् २००२ देखि नै गिद्ध संरक्षण अभियान शुरु गरिएको हो । यो अभियान विश्वकै लागि सफल र अनुकरणीय बनेको छ
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्