ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर बजारमा

ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर बजारमा

काठमाडौं । कोभिड १९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो ।

बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । ती कम्पनीका स्यानटाइजरको उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाइएको छ ।

साथै बजारमा हुन सक्ने यस्ता अन्य उत्पादनको खोजी ब्यापक बनाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउँछन् । महामारीको मौका छोपी ज्यानै लिनेसम्मको हानिकारक रसायन मिसाइएको र कतिपयमा गुणस्तर मापदण्ड पुरा नभएको पाइएपछि प्रयोगमा रोक लगाइएको उनको भनाइ छ ।

बजारमा भेटिएका विषाक्त स्यानिटाइजरमा मिथानोल मिसावट पाइएको छ ।

‘विषाक्त स्यानिटाइजरले मानिसलाई कोमामा पुर्‍याउनेदेखि ज्यानैसम्म पनि लिनसक्ने जोखिम देखियो । कतिपय स्यानिटाइजर जुन प्रयाजनका लागि बनाइएको हो, त्यसअनुसार काम नगर्ने देखियो,’ सूचना अधिकारी केसीले भने ।

भदौ २७ देखि असोज १२ गतेसम्म देशभर भेटिएका १८ वटा विषाक्त स्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको छ । यस्तै तीन कम्पनीको स्यानिटाइजरमा विश्व स्वास्थ्य संगठनको र औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पुगेको छैन ।

मापदण्ड नपुगेका स्यानिटाइजरले उद्देश्यअनुरुप काम नगर्ने र विषाक्त रसायनयुक्त स्यानिटाईजरले स्वास्थ्य जोखिममा पर्ने विभागको भनाइ छ ।

स्यानिटाइजरमा मिसाइएको मिथानोल मानवीय प्रयोगका लागि होइन । यसले मानिसमा श्वासप्रश्वास, मुख, छाला, र आँखाको माध्यमबाट शरीरमा नाकारात्मक असरहरु देखा पर्छ । खोकी लाग्ने, टाउको दुख्ने, रिंगाटा तथा वाकवाक लाग्ने, वान्ता हुने जस्ता असरहरु देखा पर्छ ।

यस्तै श्वास फेर्न अप्ठ्यारो हुने, छाला सुख्खा तथा रातो हुने दृष्टि गुम्न सक्ने र मानिसको ज्यान समेत जानसक्ने विभागले प्रष्ट्याएको छ । मिथानोल प्रयोगशालाको परीक्षणका लागि मात्रै प्रयोग हुने उनले बताए ।

यसअघि यस्तै पदार्थ मिसाइएको विषाक्त रक्सीका कारण मानिसको मृत्यु भएको विभागका सूचना अधिकारी केसीले बताए ।

विभागका अनुसार सिभिका कस्मेक्युटिकल्स लिमिटेडले उत्पादन हर्बलट्री ह्यान्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्यान्ड स्यानिटाइजर र क्लिन हृयाण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट हृयाण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्यान्ड स्यानिटाइजर ९पहेंँलो रङ्गको० र रङ्गबिनाका दुई सेनिटाइजर उद्योगका उत्पादनमा विषाक्त रसायन फेला परेको थियो ।

भक्तपुरको नेपाल क्याकल्प उद्योगले उत्पादन गरेको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको हाईजेनिक शोप एन्ड केमिकलले उत्पादन गरेको इन्स्ट्यान्ट हृयाण्ड स्यानिटाइजर ओर्जिनल, अधर केमिकल्स एण्ड फूड उद्योगले उत्पादन गरेको एड्भान्स ह्यान्ड स्यानिटाइजरमा पनि मिथानल मिसाइएको पाइएको थियो ।

यस्तै काठमाडौंकै सर्च छेम छुम हर्बल प्रोडक्टले उत्पादन गरेको इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाईजर रिफ्रेजिङ जेल र सूर्यमूखी हर्बल प्रडक्टले उत्पादन गरेको सूर्यमुखी हृयाण्ड स्यानिटाइजरमा पनि विषाक्त रसायन मिथानल प्रयोग गरिएको पाइएको थियो ।

यस्तै चीनमा बनेको ओपकल नन वासिङ एन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड ह्यान्ड स्यानिटाइजर ६० एमएलमा विषाक्त मिथानलको प्रयोग भेटिएको थियो ।

काठमाडौंमा कारखाना रहेको यूनीकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ६५ एमएल र ललितपुरमा बनेको सासा इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ५० एमएलमा कम गुणस्तर पाइएको थियो । यस्तै आर केमिकल्सले पर्साले रि प्याकेजिङ गरेको खुम ह्यान्ड स्यानिटाइजर पनि कम गुणस्तरको पाइएको थियो ।

स्यानिटाइजरका कारण शंकास्पद रुपमा स्वास्थ्य समस्यामा परेको भए सम्पर्क गर्न सर्वसाधरणलाई विभागले आग्रह समेत गरेको छ । विभागले क्षतिबारे उजुरी गर्न केहीदिन भित्रै सार्वजनिक उजुरी गर्न सूचना जारी गर्ने तयारी गरेको सूचना अधिकारी सन्तोष केसीले बताए ।

कोही पनि उपाभोक्तालाई विषादियुक्त स्यानिटाइजरको असरबारे उजुरी गरे कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही थाल्ने विभागको तयारी छ ।

औषधिमा मिसावट र मिसावट भएको औषधिको बिक्री गरेका कारण ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दशवर्षसम्म कैद र जरिवाना, शरीरको कुनै अगंको शक्ति क्षीण वा हरण हुनसक्ने भएमा दश वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij