कोरोना महामारीले सङ्कटमा पत्रकार

कोरोना महामारीले सङ्कटमा पत्रकार

कोरोना महामारीका कारण देशभरका सञ्चारसंस्थाबाट पाँच सय बढी पत्रकारले जागिर गुमाए

 

 

रुपन्देही
कोरोना महामारीका कारण देशभरका सञ्चारसंस्थाबाट पाँच सय बढी पत्रकारले जागिर गुमाउनुपरेको छ ।

पत्रकार महासंघले गरेको सर्वेक्षणअनुसार सात सय पत्रकार बेतलवी विदामा बसेका छन् भने आठ सय पत्रकारको तलब कटौती गरिएको छ । १५ सय बढि पत्रकारको झण्डै तीन महिनादेखिको पारिश्रमिक बाँकी छ । अहिलेसम्म चार सय १३ जना पत्रकार कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमित ८३ जना पत्रकार उपचाररत छन् ।

एकातर्फ पत्रकारहरु रोजगारविहीन हुने क्रम बढ्दो छ भने अर्कातर्फ जागिरबाट विस्थापन हुँदासमेत लामो समयको पारिश्रमिक, भत्ता, सुविधा पाएका छैनन् । केही मिडिया हाउसले प्रदान गरेको न्यूनतम् तलबसमेत केहीले पाउने, केहीले नपाउने अवस्था छ । यसबाट समान श्रमजीवीका विच पनि चरम विभेद देखिएको छ ।

कतिपय लामो समयदेखि कार्यरत पत्रकारलाई जबर्जस्ती विदामा बस्न लगाएर रोजगार विहीन पारिएको छ । अरुको अधिकारका लागि बोल्ने, लेख्ने पत्रकारले आफ्नै अधिकार कुण्ठित भएको पिडा आज बुटवलमा आयोजित कार्यक्रममा सुनाए ।

कोभिड १९ ले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिलको सहयोगमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिको आयोजना र पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मुलुकका हरेक परिवर्तनमा सकारात्मक भूमिका खेलेका सञ्चारकर्मीलाई अहिलेको संकटपूर्ण अवस्थामा जबर्जस्ती कामबाट बेरोजगार बनाउने सञ्चारमाध्यमका सञ्चालकहरुको हर्कत अन्यायपूर्ण, निन्दनीय र अमानवीय रहेको बताए ।

उनले मिडिया व्यवसाय चलाएपछि त्यहाँ हुने नाफा वा घाटा दुबै लगानीकर्ताहरुले व्यहोर्नुपर्ने भन्दै मिडिया उचित कारणसहित बन्द गर्नुपरे पनि नियम र कानूनअनुसार विभिन्न सुविधा र उपादान दिएर मात्र श्रमजीवीको विदाई गर्नुपर्ने धारणा राखे ।

“आफुलाई मिडिया व्यवसाय गरेको मिडिया उद्योगपति बताउने र त्यो नाममा राज्य र अन्य निकायवाट बेलाबेला राहत, सहुलियत र छुटसमेत लिँदै आएका कथित बिगहाउसका सञ्चालकहरुले अहिलेको संकटको अवस्थामा अहोरात्र खटिरहेका श्रमजीवी सञ्चारकर्मीलाई थप राहत र सुविधा बढाउनुपर्नेमा उल्टो पेटमाथि लात हानेर आहत पु¥याउने काम गरिरहेका छन्, यसले तिनीहरुको नियत छर्लङ्ग भएको छ ”, उनले भने ।

अध्यक्ष आचार्यले पत्रकारकै पसिनाको भरमा वर्षौ मिडियाबाट आम्दानी गरेका र मिडिया देखाएर अनेकौं फाइदा उठाएका मिडिया सञ्चालकले कोरोनाको कारण देखाउँदै कसैलाई पनि निकाल्न नपाउने बताउँदै यदी त्यसो भए महासंघले विरोध गर्ने चेतावनी दिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले विषम परिस्थितिमा समग्र सञ्चार क्षेत्रलाई परको असर मूल्याङ्कन गर्दै सरकारले कोभिड १९ महामारी नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेका सञ्चार क्षेत्रका लागि राहत तथा सहुलियतको अविलम्ब घोषणा गर्न आवश्यक रहेको धारणा राखे । “कोरोना नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले छुट्टै सुविधा पाएका छन् तर पत्रकारहरुलाई भने कुनै सेवा सुविधा छैन”, उनले भने, “पत्रकारहरुको बिमा रकम दिन समेत कम्पनीले आनाकानी गर्ने गरेका छन् ।

पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण सापकोटाले महामारीको उच्च जोखिम, व्यवसायीक असुरक्षा, सिमित श्रोत साधन र प्रतिकुल अवस्थाका बीचमा पनि प्रभावकारी ढंगबाट जनतालाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारहरुको पेशागत सुरक्षाका लागि तीनै तहका सरकार जवाफदेही बन्नुपर्ने उल्लेख गरे ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले अधिकांस मिडिया हाउसमाश्रमजीवी पत्रकारको अवस्था जटील देखिएकाले समस्या समाधानका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरीरहेको बताए । उनले जिल्लामा २४ जना पत्रकार कोरोना भाइरस सङ्क्रमित भएको र चार जना आइसोलेशनमा रहेको जानकारी गराए ।

पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कोरोना महामारीका कारण मिडियाहरुलाई आर्थिक व्यवस्थापन गर्न समस्या परेको हुँदा सञ्चारकर्मीले समयमा पारिश्रमिक नपाउने अवस्था सृजना भएको बताए ।

पत्रकार दामोदर खनालले कोरोनाको महामारीका कारण मिडिया सञ्चालन गर्न कठिनाई भएकाले सञ्चारकर्मीको रोजगारी धरापमा परेको बताए ।

पत्रकार रेखा भुसालले सङक्रमणको खतरा मोल्दै जनतालाई सुसूचित गराउने दायित्व निवार्ह गर्दा पनि सञ्चारसंस्थाले उचित मूल्याङ्कन गर्न नसकेको गुनासो गरिन् ।

समाचार संकलनकै क्रममा कोरोना भाइरस सङ्क्रमण भएको अनुभव सुनाउँदै पत्रकार दिपक घिमीरेले आफु कार्यरत मिडियाले कुनै वास्ता नगरेको बताए । उनले कोरोना महामारी शुरु भएसँगै आफ्नो पारिश्रमिक समेत रोकिएकाले समस्या भएको दुखेसो पोखे ।

“कोरोना भएपछि सामाजिक दूव्र्यवहार सहँदा बरु धेरै दुःख लागेन तर आफुले काम गर्ने मिडियाले बेवास्ता गर्दा बढी पिडा भयो ।” घिमीरेले भने, “सान्त्वना दिनु त परको कुरा काम गरेको पारिश्रमिक पनि दिएका छैनन् ।”

अर्का पत्रकार सिपि खनालले समाचार संकलनकैक्रममा कोरोना सङ्क्रमित भएर बस्दा समेत मिडियाले बेवास्ता गरेको भन्दै पत्रकारलाई पेशामा टिकीरहने वातावरण निर्माण गर्न महासंघलाई आग्रह गरे ।

पत्रकार रामप्रसाद आचार्य, यमलाल भुसाल, सम्झना शर्मा, शिब डुम्रे लगायतले कोरोनाको कारण देखाएर पत्रकारलाई निकाल्ने, पारिश्रमिक नदिने जस्ता कार्यले मनोबल कमजोर हुने बताए ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij