बैतडी
बैतडीमा मङ्गलबार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दिउँसो दुर्घटना भएको हो ।
जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका ५ की ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।
जीपका चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा ज्यान गुमाएका सबै भारतबाट पेन्सन बुझेर आउँदै गरेका रहेको बताइएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्