काठमाडौं ।
विगत केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो।
शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ’, उनले भने।
देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ।
त्यस्तै, प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
देशका अधिकांश भू भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस छ। त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्