कानुन व्यवसायी : प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिदैन

कानुन व्यवसायी : प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिदैन

काठमाण्डौ ।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा आज सोमवार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।

नेपाल बार एसोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिनुभयो ।

उपाध्यक्ष भट्टराईले भन्नुभयो, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एसोसिएशन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पार्नुभयो । उहाँले न्यायपालिकालाई सङ्कटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नुभयो, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण सङ्कटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो तर आज न्यायपालिकामा सङ्कट आएको छ । विवाद पहिलो पनि थियो तर उहाँले सङ्कट निम्त्याउनुभयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नुहुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु– उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिका निर्वाह गर्नुभएको छ रु के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नुभएको छ रु आज उहाँको नेतृत्व सम्पूर्ण रूपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै रोकिएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफैँ हुनुहुन्छ । न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक इतिहासमै दूर्भाग्यपूर्ण कुरा हो ।’

नेपाल बार एसोसिएशनका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबीसमेत गर्नुभयो ।

कर्णले भन्नुभयो, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौँ । प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु निश्चय नै दुःखद कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्योभन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले बार किन मेरो राजीनामा माग गर्न बाध्य भयो, विवश भयो भन्ने बुझ्नुपर्छ । बार र बेन्च दुवैले तपाईँको राजीनामा माग गरिरहेका छन् । यस्तो अवस्थामा तपाईँसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस्, मार्ग प्रशस्त गर्नुस् । तपाईँका लागि यही सबैभन्दा राम्रो हुन्छ । यो तपाईँको भलोको लागि होइन, आम नेपाली नागरिकको न्यायका लागि माग गरिएको हो । यो न्यायिक संस्थाका लागि तपाईँको राजीनामा माग गरिएको हो । तपाईँ रहुन्जेल अब यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरू विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाउका लागि तपाईँले राजीनामा दिनुपर्‍यो ।’

नेपाल बार एसोसिएशनले भोलि मङ्गलवार बिहान साढे १० बजे पनि सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरूलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij