तिलोत्तमा-पुर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताए । “सर्वोच्चको अहिलेको विवादले संसद विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छ”–उनले भने–“सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।
राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसल ागर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको भन्दै उनले भने–“तक्मा लिनु भनेको घुस लिए सरह हो, तसर्थ ती सबैले राजीनामा दिनुपर्छ ।”
नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । “अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ, राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थय संस्थालाई कमजोर पार्ने काम भएको छ”–उनले भने ।
फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाए । “रुपमा कम्युनिष्ट देखिए पनि दक्षिणपन्थसँग सहकार्य गरेकाले उनीहरु दलाल पुँजीवादका नेपाली एजेण्ट हुन्”–उनले भने ।
पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरु लागेको र यसको फाईदा दक्षिणपन्थले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताए । मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाईलाई केपि ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरुप कम्युनिष्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाई छ । तर बामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उनले बताए । उनले स्वास्थयकर्मी संघमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई गलत गर्ने छुट नभएको पनि बताए । “जनताले प्रश्न उठाउने गरी काम गर्ने छुट स्वास्थ्यकर्मीलाई छैन, भ्रष्टाचारमा संलग्न हुनेहरु स्वास्थ्यकर्मी संघका सदस्य हुन सक्दैनन्”–अधिकारीले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यबाहक अध्यक्ष रामबहादुर चन्दले संघभित्र फुटपरस्त गतिविधिमा लाग्नेलाई निलम्बन गरिएको भन्दै अव संगठनलाई अझ सुद्धृढ, व्यवस्थित र पारदर्शी बनाएर लगिने बताए । संघका महासचिव डा. झलक शर्मा गौतमले स्वास्थ्यकर्मी संघ देशभरीका स्वास्थ्यकर्मीहरुको आशा र भरोसाको केन्द्र बनेको भन्दै मुलुकभरका स्वास्थ्यकर्मीको हक हितको रक्षा गर्दै संघ अगाडि बढ्ने बताए । कार्यक्रममा ाष्ट्रिय स्वास्थ्यकर्मी संघ केन्द्रीय सदस्य चिन्तामणि ज्ञवाली, संघका रुपन्देही जिल्ला अध्यक्ष कृष्णप्रसाद पोखरेल, कोषाध्यक्ष गणेश भण्डारी, पानका महासचिव भाष्कर आत्रेय, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्