लुम्बिनीको जग्गा दिने निर्णयको विरोध

लुम्बिनीको जग्गा दिने निर्णयको विरोध

गुरुयोजना विपरीत नुहुने कोषको दाबी

रुपन्देही- गुरुयोजना विपरीत लुम्बिनी विकाष कोषको जग्गा एक निजी कम्पनीलाई दिने तयारी गरिएपछि लुम्बिनीका पर्यटन व्यवसायीले विरोध जनाएका छन् ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा मंसिर ११ गते बसेको कोषको बोर्ड बैठकले संसर्मा वेलनेस रिसोर्टलाई जग्गा दिने निर्णयको विरोध गर्दै आज लुम्बिनी होटल संघले कोषमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
जापनिज वास्तुविद् प्रोफेसर केञ्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना विपरीत विकास कोषको जग्गा वितरण गर्नु उचित नभएको भन्दै संघले ज्ञापन पत्र बुझाएको अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिनुभयो ।
गुरुयोजना विपरीत कोषको जग्गा दुरुपयोग गर्ने अधिकार कसैलाई नभएकाले यो निर्णय तत्काल फिर्ता लिनुपर्ने संघको माग छ । लुम्बिनीमा धम्म जननी, पण्डिताराम, द्रिगुङ काग्युङ लद्दाख जस्ता ध्यान केन्द्र सञ्चालनमा छन् । पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभाहल पनि निर्माणाधिन अवस्थामा छ तसर्थ ध्यान केन्द्रका नाममा रिसोर्ट सञ्चालनका लागि अनुमति दिने काम कदापि उचित नहुने संघको भनाइ छ ।
संघका बरिष्ठ सल्लाहकार हेम विष्टका अनुसार ज्ञापनपत्र मार्फत छानविन आयोग गठन गरी जग्गा वितरणमा भएको अनियमितता र गुरुयोजना विपरीत भएका काम सार्वजनिक गर्न तथा लुम्बिनी विकास कोषको पुनर्संरचना गर्न माग गरिएको छ ।
संसर्मा वेलनेस रिसोर्ट उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो । यसअघि वैद्य आफै लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेपनि सफल नभएकाले अहिले मन्त्री आलेको सहमतिमा ध्यान केन्द्र सहितको रिसोर्ट सञ्चालनको तयारी गरिएको व्यवसायीको भनाइ छ ।
संसर्मा वेलनेस रिसोर्टले लुम्बिनी ग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट संचालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको छ । विकास कोषले भने गुरुयोजना अनुसारका संरचना निर्माण गर्ने गरी प्रस्ताव ल्याउन भनेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । उहाँले गुरुयोजना विपरीत आउने प्रस्तावमा विकास कोषले निर्णय नगर्ने दावी गर्नुभयो ।
जापनिज वास्तुविद् प्रोफेसरे टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा भने चार विगाह क्षेत्रमा फैलिएको क्याम्पियन ग्राउण्डमा आठ÷नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र वनभोज स्थल राख्ने उल्लेख छ ।
यसैबिच लुम्बिनी विकास कोष सम्बन्धी हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति लुम्बिनी विकास कोषले ध्यानकर्षण भएको जनाएको छ ।
कोषले आज विज्ञप्ति प्रकाशित गरी लुम्बिनी गुरुयोजना २ बर्ष भित्र सम्पन्न गर्ने नेपाल सरकारको प्रतिवद्धता अनुसार लुम्बिनी क्षेत्र भित्र पर्यटकलाई सुविधा दिने उद्देश्यले गुरुयोजनामा निर्दिष्ट गरेको क्याम्पेन ग्राउण्ड निर्माण तथा सञ्चालनका लागि संसर्मा वेलनेस रिसोर्टको तर्फबाट सम्भन्ना वैद्य बस्न्यातबाट प्राप्त प्रस्ताव अनुसार उक्त संस्थालाई गुरुयोजनाले निर्दिष्ट गरे अनुसार कार्य गर्न गुरुयोजना अनुसार सञ्चालनको कार्यविधि, सम्झौताको सर्त र सो पूर्व बन्ने संरचनाहरुको ड्रइङ स्वीकृतिको लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्र भएको र यो गुरुयोजना बाहिर कुनै रिसोर्टको लागि संरचना बनाउन दिने निर्णय नभएको जनाएको छ ।
साथै मिडियामा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष वीचमा भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित हुनु गलत भएको विज्ञप्तिमा जनाइएको छ ।
कोषका उपाध्यक्ष भिक्षु मेत्तेया प्रत्येक बर्ष क्यानडामा डिसेम्बर देखि २ महिने धर्म प्रचार तथा ध्यान सिकाउने कार्य तालिका अनुसार मन्त्रीको स्वीकृतिमा नै उहाँ क्यानडा जानुभएको जानकारी गराउँदै कोषका सदस्य सचिव सानुराजा शाक्यले मन्त्रीलाई वदनाम गर्ने उद्देश्यले लुम्बिनीसँग जोडेर समाचार प्रकाशित भएको भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : सोमबार, माघ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij