रुपन्देही
अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका १०, लक्ष्मीपुर बस्ने यादबको खुट्टाले काम नगर्ने भएका कारण बैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । आउने जाने साधनको व्यवस्था समेत नभएपछि यादव निर्वाचनमा सहभागी हुन पाउनुभएन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइन, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिन तर आउने जाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।”, उहाँले सुनाउनुभयो ।
लुम्बिनी (३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । पूर्ण अपाङ्गता भएका कारण बिस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उहाँको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिन, अरुले लैजादैनन्”, उहाँले भन्नुभयो ।
लुम्बिनी(१० का नेत्रबहादुर चुँदालीलाई यस पटकको चुनावमा पनि भोट हाल्न पाइदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताउनुहुन्छ । “मतदाता नामावलीमा नाम छ तर दुबै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन”, उहाँ भन्नुहुन्छ ।
वडा नम्बर १० कै सुराती धोबि, बबिता थारु, मार्कान्डे थारु र फुलमाया थापा पनि अपाङ्गता भएकै कारण मतदान स्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । मतदाता नामावलीमा नाम भएर पनि यस पटकको चुनावमा समेत भोट हाल्न नपाउँने होकी भन्ने चिन्ता उहाँँहरुलाई छ ।
अपाङ्गता भएकै कारण निर्वाचनमा सहभागि हुन नसकेका अपाङ्गता भएकाहरु धेरै छन् । मतदान दिएकाहरुले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उहाँहरुसँग छ । त्यसो त अझैपनि अधिकांश अपाङ्गता भएकाहरुको मतदाता नामावली नै नभएको राष्ट्रिय अपाङ्ग महासंघको भनाइ छ ।
आसन्न स्थानीय तहको निर्र्वाचनलाई लिएर राजनीतिक दल र कार्यकर्ता निकै उत्साहित छन् यो बेला । तर, सजिलै मतदान गर्ने अवस्था नहुँदा अपाङ्गता भएका व्यक्तिहरु भने निराश छन् । “ नत हाम्रा उम्मेदवार छन् न हामीलाई भोट हाल्ने ठाउँसम्म लैजाने ल्याउने व्यवस्था छ”, अपाङ्गता भएकी फुलमाया थापा पिडा पोख्नुहुन्छ ।
आफुहरुलाई सरकार र राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ । “अपाङ्गता भएकाहरुलई मान्छे नगन्ने परिपार्टी अहिले पनि छ, त्यसै यो क्षेत्रलाई सरकार र राजनीतिक दलले प्राथमिकतामा राखेका छैनन”, बौद्धिक अपाङ्गताका अभिभावक लोकनाथ भुसाल भन्नुहुन्छ, “तर हामीले अपाङ्गतामैत्री मतदान स्थल र संरचना निर्माणका लागि निरन्तर दबाब दिइरहेका छौँ ।”
निर्बाचन स्थल समेत अपाङ्गतामैत्री नहुँदा समस्या अपाङ्गता भएकालाई भोट हाल्न निकै सकस हुन्छ । “राजनीतिक दलले अरु मतदाता ओसारपसार गर्छन तर अपाङ्गता भएकालाई बोक्न गाह्रो मान्छन् आखिर भोट त साङ्गले दिएपनि अपाङ्गता भएकाले दिएपनि एउटै होनी ”, लुम्बिनीकी सामाजिक अगुवा मञ्जु ढकाल भन्नुहुन्छ । यसअघि भएका संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा लुम्बिनी क्षेत्रका अधिकांश मतदाताले भोट हाल्न नपाएको उहाँको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ ले अपाङ्गता भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार बन्ने र कसैको सहायता लिएर वा नलिइकनै स्वतन्त्रतापूर्वक भयरहित वातावरणमा मत खसाल्ने र राजनीतिक अधिकार उपभोग गर्न पाउने कुरा सुनिश्चित गरेको छ । हरेक व्यक्तिलाई सिधै वा स्वतन्त्र किसिमले छानिएका जनप्रतिनिधिका रूपमा आफ्नो देशको सरकारमा सहभागी हुने अधिकार छ भन्नुहुन्छ, अधिबक्ता इन्दिरा आचार्य ।
राजनीतिक तथा सार्वजनिक जीवनमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता, समावेशिता र प्रतिनिधित्व समावेशी, स्वस्थ्य र सुदृढ लोकतन्त्रका आधारभूत पक्ष हुन् । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्रसङ्घीय महासन्धि (सीआरपीडी) को पक्षराष्ट्र हो ।
यस सन्धिले अपाङ्गता भएका व्यक्तिहरूले अरूसरह समानरूपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्यपक्षले प्रत्याभूत गर्ने भनेको छ । यसमा निर्वाचन तथा मतदान प्रक्रिया एवं निर्वाचन सामग्री अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त र उपयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्ने जस्ता कुराहरू पर्छन् ।
कानुनले यस्ता अधिकार प्रत्याभूत गरेका भए पनि अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा सहभागी हुनेक्रममा धेरैखाले व्यवधान र भेदभावको सामना गर्नु परिरहेको अधिवक्ता आचार्यको भनाइ छ ।
मतदानकेन्द्रभित्र वा मतदानकेन्द्रतिर जाने सिँढी, साना खुड्किला वा अग्लो सतह भएको ठाउँमा जान ह्विलचियर प्रयोगकर्ताका लागि ¥याम्प आवश्यक हुन्छ, जुन आधारभूत संरचना हो तर यसतर्फ ध्यान नदिँदा मतदानस्थलसम्म पुग्न कठिनाइ हुने गरेको सैनामैना (१ निवासी ह्विलचेयरप्रयोगकर्ता मैया लम्साल गुनासो गर्नुहुन्छ ।
अपाङ्गताका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुका अनुसार पार्किङ क्षेत्रबाट मतदानकेन्द्रको प्रवेशद्वार पुग्ने पहुँचयुक्त बाटा, स्पर्श प्रणालीको मतपत्र र ब्रेल मतपत्र वा त्यससम्बन्धी निर्देशिका उपलब्ध गराएर, श्रव्य वा ठूला अक्षरमा निर्देशिका तयार पारेर, पर्याप्त प्रकाश, अक्षर ठूलो देखाउने म्याग्निफाइङ ग्लास आदिको चाँजोपाँजो मिलाएर दृष्टिसम्बन्धी अपाङ् गता भएका व्यक्तिहरूको मतदानमा पहुँच बढाउन सकिन्छ ।
मतदान कार्य धेरै जनसङ्ख्यालाई पायक पर्ने स्कुल जस्ता सार्वजनिक भवनमा सञ्चालन गर्नुपर्छ । आवश्यक भए यस्ता भवनमा ¥याम्प निर्माण गर्नेबारे अतिरिक्त निर्देशिका पनि जारी गर्नुपर्छ । साथै, निर्वाचनसम्बन्धी नियमावलीमा पहुँचसम्बन्धी मापदण्डमा आधारित भएर निर्वाचन केन्द्र स्थापना गर्नुपर्ने प्रावधान राख्नुपर्छ ।
व्यवधानरहित पर्याप्त फराकिलो प्रवेशद्वार तथा बाहिर निस्कने बाटो, पहुँचयुक्त बस्ने व्यवस्था, पर्याप्त उज्यालो, पहुँचयुक्त शौचालय र सरसफाइसँग सम्बन्धित सेवा, ह्विलचियर प्रयोगकर्ताका लागि मतदानकेन्द्रभित्र हिँडडुल गर्नका लागि पर्याप्त ठाउँ तथा मतदानकेन्द्र नजिकै ह्विलचियर पार्किङ गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ भन्नुहन्छ, राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश सदस्य सावित्रा घिमिरे ।
सम्बन्धित कानुनी दस्ताबेजले निर्वाचनसम्बन्धी सामग्री तयार गर्दा पालना गर्नुपर्ने पहुँचसम्बन्धी मापदण्डबारे विवरण दिनुपर्छ । पहुँचयुक्त मतपत्र (बे्रल मतपत्र वा स्पर्श प्रणालीमा आधारित गाइड वा पर्याप्त ठूला आकारका चुनाव चिह्न), मतसङ्केत गर्न राखिएको टेबलको पहुँचयुक्त उचाइ र मतपेटिका, बे्रलमा रहेका चिन्ह तथा मतदानसम्बन्धी निर्देशिका, श्रव्य निर्देशिका, ठूला अक्षरबारे विवरण दिनुपर्छ । यी बाहेक मतदानकेन्द्रमा साङ्केतिक भाषाका दोभासेको पनि व्यवस्था हुनुपर्ने अधिकारर्मी घिमिरेको भनाइ छ ।
मतदान केन्द्र र मतदान स्थल अपाङ्गता बनाउनेतर्फ निर्वाचन कार्यालयको समेत ध्यान पुगेको छैन । “ यसअघि नै तोकिएका स्थल हुन् । अहिले थप अपाङ्गतामैत्री भनेर बनाउन सकिएको छैन”, निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारी भन्नुहुन्छ ।
उहाँका अनुसार यही वैशाख ३० गते हुन लागेको निर्वाचनमा रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्